Hikmat Acharya
  • ३१ भदौ २०८१, सोमबार
  • काठमाडौं
Paschim Raibar

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा साँफेबगर पहिलो : तुर्माखाद पुछारमा


स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको अन्तिम नतिजामा साँफेबगर नगरपालिका अछाममा उत्कृष्ट अङ्क ल्याउँदै पहिलो भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक बर्ष २०७९।८० को सार्वजनिक गरेको स्वमूल्याङ्कन नतिजा प्रतिवेदन अनुसार साँफेबगर नगरपालिका ७७ दशमलव २५ अङ्क ल्याउँदै जिल्लामै पहिलो भएको हो ।

७१ अङ्क ल्याउँदै पंचदेवल विनायक नगरपालिका दोस्रो भएको छ । त्यसै गरी मंगलसैन नगरपालिकाको ६९ अङ्क ल्याएर तेस्रो हुँदा बान्नीगढी जयगढ गाउँपालिका ६८ दशमलव ५० अङ्क ल्याएर चौथो स्थानमा छ ।

मेल्लेख गाउँपालिकाले ६६ दशमलव ५० अङ्क ल्याउँदा कमलबजार नगरपालिकाले ६४ दशमलव २५ ,चौरपाटीले ६३ दशमलव ७५,रामारोशन गाउँपालिकाले ४७ दशमलव ७५ अङ्क पाएका छन् । यस्तै ढकारी गाउँपालिकाले ४७ अङ्क ल्याउँदा तुर्माखाद गाउँपालिकाको ४३ दशमलव ५० अङ्क छ ।

मन्त्रालयले गाउँ तथा नगरपालिकाको कार्य प्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने उद्देश्य सहित आर्थिक बर्ष २०७९।८० को नतिजा बिहीबार सार्वजनिक गरेको हो । त्यस्तै आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबिच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा सार्वजनिक गरेको जनाएको छ ।

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधिले लिजाको कार्यान्वयनमार्फत स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धिका बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षको पहिचान गर्न सघाउँछ । विकास तथा सुशासनका सन्दर्भमा रहेका कमीकमजोरी पहिल्याउन, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न र स्थानीय तहका बिचमा तुलनायोग्य सूचकहरू तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउने अभीष्ट राखेको छ । कार्यविधिमा स्थानीय तहमा स्वमूल्याङ्कनका लागि दश वटा विषय क्षेत्रमा विभिन्न सूचक निर्धारण गरिएका छन् ।

स्थानीय तहले संस्थागत संरचना र क्षमता विकासको अवस्था, पारदर्शिता, जवाफदेहिता, बेरुजुको अवस्था र सुशासनको अवस्थाका आधारमा आफ्नो मूल्याङ्कन गर्ने गरी विभिन्न इन्डिकेटर राखिएका छन्। स्थानीय तहले गरेको स्वमूल्याङ्कनलाई जाँच गर्ने जिम्मेवारी भने जिल्ला समन्वय समितिलाई दिएको छ ।


क्याटेगोरी : पश्चिम खोज, पालिका, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode