Hikmat Acharya
  • ८ कात्तिक २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

बाढी– पहिरोको बितण्डा– ३ दिनमा १ सय ४८ जनाको मृत्यु


काठमाण्डौ – पछिल्लो तीन दिनमा वर्षाजन्य विपद्मा परेर १ सय ४८ जनाको ज्यान गएको छ । नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले उज्यालोलाई दिएको जानकारीअनुसार अस्ति शुक्रवारदेखि आजसम्म विभिन्न जिल्लामा १ सय ४८ जनाको ज्यान गएको छ भने ५८ जना अझै बेपत्ता छन् । यस्तै १ सय एक जना घाइते भएका छन् ।

सबैभन्दा धेरै काठमाण्डौ उपत्यकाका तीन वटा जिल्लामा मात्रै ४१ जनाको ज्यान गएको छ । काठमाण्डौमा १४, ललितपुरमा २२ र भक्तपुरमा पाँच जनाको ज्यान गएको उहाँले बताउनुभयो । यसअघि सशस्त्र प्रहरीले भने काठमाण्डौ उपत्यकाका तीन वटा जिल्लामा मात्रै ७३ जनाको ज्यान गएको बताएको छ । धादिङमा बस पुरिएका मृतकलाई समेत काठमाण्डौ उपत्यकामा गणना गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यस्तै नेपाल प्रहरीका अनुसार धादिङमा ३८, काभ्रेमा २९ र मकवानपुरमा ७ जनाको ज्यान गएको छ । यस्तै सिन्धुपाल्चोकमा ६, दोलखामा ३, सिन्धुलीमा २ र रामेछापमा १ जनाको ज्यान गएको छ यसैगरी सोलुखुम्बु र पाँचथरमा ५/५ जना, झापा र धनकुटामा २/२ जना तथा इलाम र उदयपुरमा एक÷एक जनाको ज्यान गएको छ । महोत्तरीमा २ जना र सप्तरीमा १ जनाको ज्यान गएको छ ।

यस्तै बाढी पहिरोमा परी ५८ जना बेपत्ता भएका छन् । सबैभन्दा धेरै काभ्रेमा २३ जना बेपत्ता छन् । यस्तै ललितपुरमा १५, काठमाण्डौमा ५, सिन्धुपाल्चोकमा ६, दोलखामा ४, धादिङमा २, पाँचथरमा ५ जना तथा झापा, मोरङ र महोत्तरीमा १/१ जना बेपत्ता भएका नेपाल प्रहरीले जनाएको छ ।

बाढी पहिरोमा परेर अहिलेसम्म ३ सय ३४ वटा घर बगेका छन् । यस्तै ४ वटा पक्की पुल र २ वटा बेलिब्रिजसहित १६ वटा पुल पनि बगेका सशस्त्र प्रहरीले जनाएको छ । बाढी पहिरो प्रभावित कतिपय ठाउँमा अझै पनि सञ्चार सम्पर्क हुन नसकेकाले क्षतिको विवरण आउन नसकेको पनि प्रहरीले जनाएको छ ।

 


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode