बान्नीगढीकाे घर भाडा मात्रै बार्षिक करिब २० लाख : कर्मचारीकाे ढलीमली राेक्ने निर्णय हाेला त कार्यान्वयन ?

अछाम । बान्नीगढी जयगढ गाउँपालिका सरकारले घर भाडामा मात्रै वार्षिक रुपमा करिब २० लाख खर्च गदै आएको छ ।
गाउँ कार्यपालिकाको प्रशासनिक भवन,बिभिन्न शाखा र जनप्रतिनिधि तथा कर्मचारीको आवासका लागी वार्षिक रुपमा करिब २० लाख खर्च हुँदै आएको हो ।गाउँपालिकाकाले गएको आर्थिक बर्ष २०८०।८१ मा मात्रै घर भाडा बाफत १८ लाख ६४ हजार ८ सय रुपैयाँ भुक्तानी गरेको थियो ।
गाउँपालिकाको प्रशासनिक भवनका लागी वार्षिक ८ लाख ७१ हजार,स्वास्थ्य शाखाको स्टोरका लागी २ लाख ६७ हजार,पशु सेवा शाखाका लागी वार्षिक रुपमा ४ लाख ३५ हजार ६ सय खर्च गर्दै आएको छ । यस्तै गाउँपालिका उपाध्यक्षको क्वाटरका लागी बार्षिक १ लाख ८० हजार र गाउँपालिका अध्यक्ष सचिवालयमा मासिक ९ हजार खर्च गरेको थियो ।
गाउँपालिकाले बिभिन्न शाखा र स्टोरका नाममा घर भाडामा लिएको दाबी गरे पनि भाडामा लिइएका घरहरूलाई कर्मचारीले निजी क्वाटरको रुपमा प्रयोग गर्दै आएका छन् ।
घर भाडाका नाममा वार्षिक रुपमा ठुलो रकम खर्च हुने गरेको गुनासोका आधारमा कार्यपालिका बैठकले भाडामा लिइएका घरहरूमा पालिकालाई आवश्यक कोठा र तिनको भाडा हेरफेर गरि नयाँ सम्झौता सहित अघि बढ्ने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार विगतमा कर्मचारीले निजी रुपमा प्रयोग गर्दै आएका घरहरूको भाडा हेरफेर सहित सम्झौता गर्न घरधनीलाई सम्झौताका लागी पत्राचार गरि सकेको गाउँपालिकाले बताएको छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर रावलका अनुसार नयाँ सम्झौता अनुसार घर भाडाको खर्चमा उल्लेख्य कटौती आउने छ ।
यता गाउँपालिकाको प्रशासनिक भवनको निर्माण कार्य तीव्र गतिमा चलिरहेकाले आउँदो वर्षबाट नयाँ भवनबाट सेवा प्रवाह हुने गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदको विश्वास छ ।
प्रशासनिक भवन निर्माणको कार्यमा तीव्र गतिमा भईरहेको बताउँदै उनले आफ्नै कार्यालयबाट सेवा प्रवाह सुरु भएसँगै बार्षिक रुपमा चालु तर्फको लाखौँ बजेट अन्य ठाउँमा सदुपयोग गर्न सकिने बताएका छन् ।

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : पश्चिम खोज, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया