Hikmat Acharya
  • २ कात्तिक २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

बैतडीमा अटो दुर्घटनामा घाइतेमध्ये एक जनाको मृत्यु


बैतडी– बैतडीमा अटो दुर्घटनामा परी घाइते भएका चार जनामध्ये एकजनाको मृत्यु भएको छ ।

जिल्लाको दोगडाकेदार गाउँपालिका–२ की ४५ बर्षीया वसन्ती भनिने हरिना जोशीको उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताउनुभयो ।

दुर्घटनामा घाइते भएकी जोशीलाई जिल्ला अस्पताल बैतडीबाट धनगढी रेफर गरिएको थियो । उनलाई धनगढी लैजाने क्रममा दशरथचन्द राजमार्ग अन्तर्गत पाटन –खोड्पे सडकखण्डमा शुक्रबार साँझ ६ बजेतिर मृत्यु भएको हो ।

शुक्रबार दिउँसो साढे १२ बजेतिर महाकाली राजमार्ग अन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–३ खोचलेक नजिकै सुपप्र ०१००१ ह ६०७० नम्बरको अटो अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

सिल्लेगडाबाट खोचलेकतर्फ जाँदै गरेको अटो सडकबाट एकसय मिटर तल खस्दा घाइते भएका मध्ये दोगडाकेदार गाउँपालिका–२ की २५ वर्षीया पार्वती जोशीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ । उनी गर्भवती समेत रहेको खुलेको छ । श्रीकोट स्वास्थ्यचौकी गर्भजाँचका लागि जाने क्रममा अटो दुर्घटनामा परेर उनी घाइते भएकी हुन् ।

यस्तै दुर्घटनामा परेर घाइते भएका पुर्चौंडी नगरपालिका–९ का २० बर्षीय हिरा सार्की जिल्ला अस्पताल बैतडीमा उपचार गराएर घर फर्किसकेका प्रहरी निरीक्षक ढुंगानाले बताउनुभयो ।

यस्तै दुर्घटनामा घाइते भएका अटो धनी दोगडाकेदार गाउँपालिका –२ का २५ बर्षीय राजेन्द्र भाटको अवस्था पनि सामान्य रहेको छ ।

अटो चालक दार्चुलाको शैल्यशिखर नगरपालिका–९ का २२ बर्षीय उमेश साउँद र अटो धनी भाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय पाटनले नियन्त्रणमा लिएको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ढुंगानाले बताउनुभयो ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode