Hikmat Acharya
  • २७ मंसीर २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

झोलामै अस्पताल बोकेर घर-घर पुग्ने सत्य सुनार !


साँफेबगर ,अछाम .

अछाम साँफेबगरको फाँटमा लुकेको छ प्रभा गाउँ। डाँडामा रहेको प्रभाधमकोट विद्यालयबाट ओरालो लागेपछि लहरै पुराना घरहरु देखिन्छन् । तर यी घरहरुमा भने मान्छेहरु बिरलै पाइन्छन् । गाउँका धेरै जसोले त बसाइँ सरिसके । कोही साँफे सरे। कोही मधेश झरे। अनि कयौंले भारतका शहर रोजे। गाउँमा केवल बाँकी छन् बाध्यताले बसेका बुढाबुढी, बालबालिका र महिला ।

गाउँमा रहेका हरेक मान्छेका आवश्यकता फरक छन्, समस्या फरक छन् । तर स्वास्थ्य सेवाको पहुँचमा भने सबैको समान अवसर छ किनकी बिगत १६ वर्षदेखि सामुदायिक स्वास्थ्य कार्यकर्ताको रूपमा काम गर्दै आएकी छिन् – सत्य सुनार । सत्यको झोलामा एउटा सानोतिनो स्वास्थ्य केन्द्र छ। यहि सानो-तिनो अस्पताल बोकेर सत्य हरेक दिन गाउँका डाँडा-काँडा ओहोर-दोहोर गर्छिन्, मान्छेहरुलाई सन्चो बनाउन ।

दलित परिवारमा जन्मिएकी सत्य सात सन्तानमा जेठी थिइन् । उनको परिवारको आर्थिक स्थिति निकै कम्जोर थियो । उनी भन्छिन्, “घरमा खाना खाने भाडा-कुडासम्म किन्न सक्ने क्षमता थिएन ।” घरका सातै सन्तान एउटै ताप्केबाट भात खान्थे । उनका बुवा हलिया भएर अरूको खेतबारी जोतेर परिवार पाल्थे। गरिबी र विभेदले गाँजेको समाजमा हुर्किएकी सत्यको बाल्यकाल सजिलो थिएन। तर उनका बुवाले शिक्षाको महत्त्व बुझेका थिए । छोरीलाई जसो-तसो १० कक्षा सम्म पढाए । सत्यले पनि आफ्नो महिला शिक्षकहरुलाई देखेर शिक्षाको महत्त्व बुझेकी थिईन् । उनलाई लाग्यो, शिक्षाले नै उनको परिवारलाई उद्दार गर्न सक्छ । तर स्कुल पठाउने आँट गरेका बुवाले समाजमा चलेको चलन भत्काउन सकेनन्। पढ्दै गरेकी सत्यलाई १७ वर्षको उमेरमै अन्माएर पठाइदिए । तर सौभाग्यवस, बिहेपछि पनि उनले पढ्ने मौका पाइन्। १२ कक्षासम्म अध्ययन गरिन् । शिक्षा सेवाको लाइसेन्स पनि लिइन्। लोकसेवा पास गरेर सरकारी जागिरे बन्ने उनको सपना थियो । तर घर व्यवहारले थिच्दै गयो। सन्तानको स्याहार सुसारले रहरहरु ओझेल पर्दै गए ।

अछाममा नाम कमाएको बयलपाटा अस्पताल छ, न्याय हेल्थ नेपालले अलि पृथक तरिकाले चलाएको अस्पताल । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन गाउँ-गाउँबाट सामुदायिक स्वास्थ्य कार्यकर्ता छानियो । प्रभा गाउँकै महिला समूहबाट सत्य सुनार छनौट भइन्। स्वास्थ कार्यकर्ताको रूपमा उनी दिनहुँ आफ्नो झोलामा स्वास्थ्य सामग्री लिएर गाउँका घरहरु पुग्छिन्, बिरामीको रेकर्ड राख्छिन्, औषधिको जानकारी दिन्छिन् र गाउँलेहरूको स्वास्थ्य अवस्था सुधार्न अनवरत लागिपरिरहेकी छिन् । उनी जस्तै नेपाल भरि ५०,००० भन्दा बढी सामुदायिक स्वास्थ्य कार्यकर्ताहरु छन् । हरेक घरधुरीको विवरण उनको मोबाइलमा छ। मोबाइल एपबाटै उनलाई जानकारी हुन्छ – कुन घरमा, कति उमेरका, कस्ता बिरामी वा सेवाग्राही छन् । यो जानकारी संकलन गर्ने काम पनि स्वास्थ्य कार्यकर्ताहरुले आफै गरेका हुन्छन् । उनीहरुले घरैपिच्छे घर नम्बर टाँस्ने काम पनि गरेका छन् । घर नम्बर हानेकै भरमा सिंगो परिवारको सूची देखिन्छ।

१६ वर्षको उनको कार्यकाल भने प्रभा गाउँ वरि-परिको डाँडाझैँ उतार चढावले भरिएको छ । पहिले गाउँमा पुल थिएन, सेना वा प्रहरीहरुले खोला तारिदिनु पर्थ्यो । जंगलमा हिड्दा कहिले सर्पले टोक्ने डर त कहिले बाघ-भालुको । घर-घरमा पुग्दा कुकुरले पटकपटक उनको पिँडौलामा गाढेका दाँतका डोबहरु अझै मेटिएका छैनन्। तर जति कठिनाई भूगोलले दियो, त्यो भन्दा बढी पिडा उनलाई सामाजिक भेदभावले दियो ।

दलित भएकैले उनलाई कति घरमा प्रवेश निषेध थियो। घरको आँगनबाट भित्र छिर्न नदिने, प्यास लाग्दा पानी दिन गाह्रो मान्ने, गाईबस्तुको नजिक पर्न नदिने – यस्ता भोगाई त कति हुन् कति ! त्यही पनि उही समाजको स्याहारमा सत्य तत्पर भएर लागिपरिन् । आँगन बाहिर रहेको मलको बोरामा बसेर सत्यले गाउँलेहरुको स्वास्थको ख्याल राखिन् ।

बिकट गाउँमा भगवान भरोसा नै आफ्नो जीवन समर्पण गर्नेहरुलाई सत्यको कर्म र दृढताले अकल्पनीय परिवर्तन ल्याएको छ । गाउँमा पहिले गर्भवती महिलाहरु गाईबस्तु, बाख्रा चराउँदै गर्दा अथवा घाँस काट्दा काट्दै बच्चा जन्माउँथे । सत्यको प्रयासले नै अहिले गाउँमा स्वास्थ्य चेतना फैलिएको छ। गर्भवती महिलालाई अस्पताल जानुपर्छ, बच्चाहरूलाई खोप दिनुपर्छ भन्ने चेतना विस्तार भएको छ। अहिले गाउँमा दुई वर्ष मुनिको बच्चाको अकाल मृत्यु भएको छैन। गर्भवती महिलाहरूलाई अस्पताल लैजाने संस्कृति बसेको छ ।

पहिले दुर-दुर गर्ने गाउँलेहरु अहिले सत्यलाई भगवान समान गर्छन् । उनी भन्छिन्, “गाउँका डाँडाहरुले कति नयाँ आमाहरुको चित्कार सुनेका छन् ।” उनको दिमागमा ताजै छ, बारीका कान्लामा सुत्केरी भएका आमाहरुको अनुहार। रक्तअल्पता भएकी सुत्केरीलाई छुन हुन्न भनेर अस्पताल पुर्याउन आलटाल गर्ने त्यो समाज। अनि नयाँ जीवन दिनुभयो भनेर हरेक भेटमा भगवान मान्नेहरु। चुनौतिहरुलाई उनले स्वीकार गरिन् र यी सबैले उनलाई काम गर्न जाँगर थपिरहे । अहिले समाजमा देखिएको परिवर्तन, उनलाई हेर्ने दृष्टिकोण सबै सम्झँदा उनी नतमस्तक हुन्छिन्।

सत्य सुनारको यात्राले समाजलाई एक नयाँ सोच र दृष्टिकोण दिएको छ । स्वास्थ्य सेवा मार्फत समाजमा परिवर्तन ल्याउन सकिन्छ भन्ने सत्यको विश्वासले समाजलाई नयाँ दिशा दिएको छ। अहिले सत्य सुनार प्रभा गाउँका लागि केवल स्वास्थ्यकर्मी मात्र होइनन्, उनी शिक्षिका, सल्लाहकार र प्रेरणाको स्रोत बनेकी छिन्। पहिले जहाँ सत्यले केवल दुइटा टोलमा मात्र स्वास्थ्य सेवा दिनुपर्थ्यो, अहिले उनले सम्पूर्ण वडाका बिरामीको स्वास्थ्य अवस्था हेर्नुपर्ने जिम्मेवारी छ । जहाँ उनलाई पहिले समाजले नकारात्मक दृष्टिले हेरेको थियो, अहिले गाउँलेहरू उनलाई स्वास्थ्य र जीवनका विषयमा सल्लाह लिने भरोसायोग्य स्रोत मान्छन् । उनीप्रति गाउँलेहरूको विश्वास बढ्दै गएको छ। औषधी खाने तरिका बिर्सिए पनि धेरैजसोले सत्यलाई सोध्छन्। कुनै परामर्श चाहिए पनि उनैलाई सम्झन्छन्। विगतमा आँगन टेक्दा बिटुलो महसुस गर्नेहरु आजकल सत्यको पर्खाईमा हुन्छन्।


यो श्रृंखला अष्ट्रेलियन सरकार बैदेशिक मामिला तथा व्यापार विभागको द एशिया फाउण्डेसन नेपालसँगको साझेदारीमा सञ्चालित स्थानीय सरकार सबलीकरण कार्यक्रमको “नेतृत्वमा महिला” पहल अन्तर्गत पर्दछ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, कला-साहित्य, खेलकुद, पश्चिम खोज, रोचक, व्यापार/प्रर्वद्धन, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode