कारवाहीपछि पार्टी खोल्ने रावलकाे संकेत : अलमलमा अछाम
अछाम । भीम रावल अहिले कुनै दलसँग आबद्ध छैनन् । नेकपा एमालेले पुस १० गते साधारण सदस्य समेत नरहने गरी कारबाही गरेपछि रावल दलविहीन बनेका हुन् । एमालेसँग अब रावलको पूर्ववत् सम्बन्ध बाहेक वैधानिक रुपमा कुनै साइनो छैन । चाहेर पनि रावल अब एमाले बन्ने र भन्ने अवस्थामा छैनन् ।
नवौँ महाधिवेशनमा सबैभन्दा धेरै मत ल्याएर रावल उपाध्यक्षमा विजय भएका थिए । एमालेमा भीम रावलको छुट्टै ब्रान्ड थियो । सुदूरपश्चिममा झनै एकल निर्णय चल्थ्यो । जति लोकप्रिय थिए, त्यत्ति नै कठोर पनि । उनको बोली सुदूरपश्चिमका लागि निर्णय जस्तै हुन्थ्यो । तीनै रावल अहिले एमालेमा सदस्य समेत रहेनन् । निरन्तर पार्टीलाई कमजोर बनाउने अभिव्यक्ति दिइरहेको र अनुशासन लगातार उल्लङ्घन गरेको आरोप सहित सङ्गठित सदस्य समेत नरहने गरि नेकपा एमालेले निष्कासन गरिसकेको छ । रावलको निष्कासन पछि सामाजिक सञ्जाल र गृह जिल्ला अछाम बढी तातेको देखिन्छ ।
रावल निकटहरूले सदस्य नै नरहने गरि कारबाही गर्नु उचित नहुने र सहेर बस्न नसकिने प्रतिक्रिया दिइरहेका छन् । उसो त रावल आफैले पुस १७ गते (बुधवार) काठमाडौँमा पत्रकार सम्मेलन मार्फत भावी योजना प्रस्तुत गर्ने घोषणा गरिसकेका छन् । रावलले गरेको पत्रकार सम्मेलन र नयाँ पार्टी खोल्ने सङ्केतपछि निकट भनिएकाहरू अलमल र अन्योलमा देखिएका छन् । त्यसको पहिलो असर रावलकै गृह जिल्ला अछाम र अछामका एमाले कार्यकर्तामा बढी परेको देखिन्छ । रावललाई भूमिका विहीन बनाएको आक्रोश थियो नै, त्यसैमा साधारण सदस्य समेत नरहने गरि कारबाही गरेपछि रावल निकट मानिएका नेता कार्यकर्ता विद्रोहकै पक्षमा उत्रिएका छन् ।
सामाजिक सञ्जालले उक्साए जस्तो रावलको माहाेल गृह जिल्ला अछाममा देखिदैन् । थोरै भए पनि प्रभाव पर्ने र कार्यकर्ताका लागि अलमलको अवस्था आएकोमा भने अधिकांश नेता कार्यकर्ता सहमत छन् । भीम रावलको भावी रणनीति बारे अहिले नै टीकाटिप्पणी गरिहाल्ने बेला भएको छैन, तर पनि उहाँपछि नै ठुलो मास र समर्थन होला भन्ने लाग्दैन, तुर्माखाँद गाउँपालिकाका अध्यक्ष समेत रहेका एमाले नेता डम्वर बिसीले भने पार्टी निर्णय हामीले मान्ने हो, प्रभाव नै नपर्ने भन्ने होइन, तर बाहिर व्याख्या गरिए जस्तो अवस्था नरहेको दाबी बिसीको छ ।
भीम रावल निर्वाचन क्षेत्र नम्वर १ का बासिन्दा हुन् । बढी प्रभाव साँफेबगर नगरपालिका, चौरपाटी गाउँपालिका, बान्नीगढी, मेल्लेख र रामारोशनमा पर्ने देखिन्छ । आंशिक प्रभाव सिंगो सुदूरपश्चिममा पनि पर्ने अवस्था छ । तर पनि पार्टी छोडेर, सदस्यता त्यागेर जाने कुरा हुन्न, नेकपा एमाले अछामका एक नेताले भने ।
एमाले अछामका सचिवालय सदस्य प्रकाश शाहले भने सिंगो अछाम र सुदूरपश्चिम अलमलमा रहेको जिकिर गरे । रावल सरको पछि जाने, नजाने समर्थन गर्ने नगर्ने कुरा पछिको हो, पार्टी संगठन बनाएकै व्यक्तिलाई पूर्वाग्रही ढंगले हटाएपछि ठुलो सङ्ख्यामा नेता कार्यकर्ता विद्रोहको पक्षमा रहने प्रतिक्रिया दिएका छन् । जसले पार्टी बनायो, काँग्रेस र राजावादीसँग लडेर संगठन निर्माण गर्यो उसैलाई हटाउने कुरा गम्भीर र आशङ्कायुक्त रहेको शाहले थपे । अछाममा आधाआधी एमाले नेता कार्यकर्तामा अन्यौलता छाएको र अलमलको अवस्था देखिएको दाबी शाहको छ ।
यसैमा एमाले अछामका सचिव भीमबहादुर रावल कालो टोपीले कारबाही गर्ने कुरा अन्यायपूर्ण रहेको बताए । सदस्य समेत भइरहने कुरामा पार्टीलाई केही समस्या हुने थिएन, हटाउनुको औचित्य पुष्टि गर्न र कार्यकर्तालाई बुझाउन समय लाग्ने रावलको दाबी छ । रावल र शाह दुबै भीम रावल निकट मानिन्छन् । एमाले पार्टीको एक टिम नै रावललाई हटाउने प्रस्ताव सहित डेलिगेसन लिएर धाउने गरेकाेमा उक्त याेजना सफल भएकाे तर पार्टीकाे भविष्यलाई भने क्षति पुगेकोमा दुवै जना एकमत छन् । पार्टी जिल्ला कमिटीको अधिवेशन समेत हुन सकेको छैन । रावललाई कारबाही नगरी अधिवेशन नगर्ने योजनाकै कारण २०८० चैत्र भित्र गरिसक्नु पर्ने अधिवेशन नभएको दाबी रावलको छ ।
पत्रकार सम्मेलन मार्फत एमाले सचिवालय बैठकको निर्णय, पार्टी निर्माणमा पुर्याएको योगदान र जबरजस्त हटाएको विषय सहित नयाँ राजनीतिक दिशा बारे पनि उद्घोष गर्ने अनुमान गरिएको छ । गोप्य श्रोतका अनुसार पार्टी नै घोषणा गर्ने सम्मको सूचना छ । गैर कम्युनिस्ट चरित्रका व्यक्तिहरूलाई साथमा लिएर अघि बढ्ने सोचमा रावल देखिएका छन् ।
पार्टी सरकारमा सहभागी हुँदा प्राय नछुट्ने रावल २०५१ पछि ४ पटक मन्त्री भएका छन् । २०४६ सालमा नेता झलनाथ खनालको स्वकीय हुँदै ०५२ सालमा पर्यटन राज्यमन्त्री, २०५५ मा पर्यटन मन्त्री बनेका रावललाई २०६२ मा पार्टीले शिक्षामन्त्रीमा सिफारिस गरेको थियो । तर चाहेको मन्त्रालय नपाएपछि सरकारमै सहभागी भएनन् । २०६४ सालमा समानुपातिक सभासद्, २०६६ मा गृहमन्त्री र २०७२ मा उपप्रधानसहित रक्षामन्त्री बनेका थिए । उपप्रधान सहित रक्षा, गृह सहितका मन्त्रालयको नेतृत्व सम्हालिसकेका छन् । उनलाई सुदूरपश्चिम बासीले एमालेको अध्यक्ष र भावी प्रधानमन्त्रीको रुपमा हेर्ने गरेका थिए । त्यो अनुमान र आशा एमालेको कारवाहीसँगै केही समयका लागि सकिएको छ । रावलको कारबाही बारे पनि पक्ष विपक्ष देखिएका छन् । बोल्न र लेख्न नसके पनि धेरैजसोले रावललाई कारबाही गरिदा खुसी मनाएका छन् । केहीले विद्रोह नै उचित हुने निष्कर्ष सुनाउने गरेका छन् ।
पार्टीमा बस्न नदिने अवस्था आइसकेपछि विभाजन र अन्यौलता निश्चित भएको एमाले नेता प्रकाश शाह थप्छन् । एमालेले सुरु गरेको मिसन २०८४ लाई प्रत्यक्ष असर पुग्ने देखिन्छ । जितका लागि नभए पनि हार्नका लागि भीम रावलको भूमिका सिंगो सुदूरपश्चिममा काफी हुने विश्लेषण समेत हुन थालिएको छ ।
नेकपा कालसम्म रावल प्रभावशाली थिए । प्रचण्ड–माधवका बलिया सारथी थिए । माधव नेपाललाई पार्टी विभाजनसम्म उकास्ने देखि नयाँ पार्टीको विधान बनाउनेसम्म भूमिका रहेको आरोप चिर्न रावलले अहिलेसम्म सकिरहेका छैनन् । आफ्नो भूमिका नरहेको दाबी भने गर्दै आएका छन् । एमालेमा सर्वाधिक मत ल्याएर शक्तिशाली उपाध्यक्ष हुँदा पनि नेकपा निर्माणको बेला ९ सदस्यीय सचिवालयमा रावल परेनन् । विष्णु पौडेलले स्थान पाए,त्यहिबेला देखि नै रावल रिसाए र ओली विरोधीको ट्याग पाए । नेकपा कालमा प्रचण्ड र माधवको बोली बोल्न थालेपछि ओलीले रावललाई टाढा राखिरहे । पार्टीमा भूमिका नपाए पनि रावलको मन्त्री बन्ने चाहना समेत ओलीले नकारिदिए ।
त्यसपछि ओलीसँग टाढिँदै र माधव नेपालसँग नजिकिँदै गए रावल । माओवादीसँग मिलेर बनेको तत्कालीन नेकपा अध्यक्षबाट ओलीलाई हटाउनुपर्ने पक्षमा उभिए । जुन योजनामा अन्तिममा आएर आफै फसे । रावलले त्यस बेला ओलीलाई हटाएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा समेत रावलले हस्ताक्षर गरे । २०७८ मा माधव नेपालले एमालेमा विद्रोह गर्दा भने उनीसहितका नेताहरू रोकिए । तर ओलीको विश्वास जित्न सकेनन् । ओलीसँग दश बुँदे सहमति गरेर एमालेमै बसेका थिए । रावलले सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेसँगै प्रधानमन्त्री ओलीलाई कुन पार्टीको हो भन्ने समेत प्रश्न उठाएका थिए ।
सुदूरपश्चिम प्रदेश सभामा तत्कालीन सभामुखसहित एमालेका २५ सांसदमध्ये ओली समूहमा ७ जना मात्रै थिए । संसदीय दलका नेता प्रकाश शाहसहित १८ सांसद रावल पक्षमा थिए । तर विडम्बना रावल अहिले रन्थनिएको अवस्थामा पुगे । अन्तिममा गैर कम्युनिस्ट पार्टी खोल्ने मनस्थितिमा पुगेको देखिन्छ । यो प्रकारको विचलन र हतारको मानसिकतालाई भने कमैले स्विकार्ने दाबी एमाले नेताहरूकै छ । अछाममा अन्योल होला, अलमल पनि होला, त्यो केही समयका लागि हाे । भीम रावललाई नजिकबाट चिन्नेहरू उनले शक्तिमा हुँदा अरूलाई पेलेको र शक्तिहीन हुँदा आफैँ पेलिएको विश्लेषण समेत थालेका छन् । रावल एमाले बाहिर रहँदा गर्नु पर्ने जति क्षति २०७९ को चुनावमा गरिसकेको दाबी गर्नेहरू पनि छन् । स्थानीय र संघ प्रदेशको निर्वाचनमा हराएको आरोप रावल माथि छ ।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया