सरकारले सार्वजनिक गाडीको भाडा बढायो (सूचीसहित)
काठमाण्डौ– सरकारले सार्वजनिक गाडीको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले आज सार्वजनिक गाडीको भाडा बढाएर सूचीसमेत सार्वजनिक गरेको छ ।
विभागका अनुसार यात्रुवाहक गाडीको भाडा तीन दशमलव ३० प्रतिशतले वृद्धि भएको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा शून्य दशमलव ८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा शून्य दशमलव शून्य पाँच प्रतिशत भाडा बढाएको विभागले जनाएको छ ।
इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरूको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण हुँदै आएको छ । भाडा निर्धारणका विभिन्न १३ वटा सूचक रहेका छन् । यसपटक इन्धनको भाउमा धेरै तलमाथि नभए पनि सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च बढेकाले भाडा बढाइएको विभागले जनाएको छ ।
यसअघि अन्तिम पटक गएको वर्षको साउन ३१ गते भाडा बढेको थियो । यातायातका श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, हाककट्टी र सञ्चालन मुनाफालगायतका मुख्य सूचकहरूमा देखिएको मूल्यवृद्धिका आधारमा सार्वजनिक गाडीको भाडा समायोजन गर्न यही पुसको ११ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समेत सहमति प्राप्त भएको विभागले जनाएको छ ।
नयाँ भाडादर आजैदेखि लागू हुनेछ ।
सुची हेर्न यहाँ क्लिक गर्नुहोस्
क्याटेगोरी : राष्ट्रिय, समाचार
प्रतिक्रिया