अछाममा नक्कली प्रवक्ता प्रकरण !
अछाम । हाम्रो बुझाइमा नक्कलीका विषयमा कुरा गर्दा, हामी प्रायः खानेपिउने वस्तु, लुगा-कपडा जस्ता सामाग्रीलाई मात्रै सोच्ने गर्छौं । अछामजस्तो जिल्लामा यस्ता नक्कली वस्तुहरू देखिनु सामान्य भएजस्तै लाग्छ। तर यो बुझाइ मात्र पूर्ण रहेनछ। यहाँ थप अरु केही पनि नक्कली भेटिएका छन । अछामजस्तो भूगोलमा नक्कली सामानहरू मात्र होइन, जिम्मेवारी प्राप्त पदहरूमा नै नक्कलीपन देखिनु वास्तवमै चिन्ताजनक हो । यो विषयले समाजमा भ्रष्टाचार, जिम्मेवारीको अभाव, र प्रशासनिक कमजोरीतर्फ संकेत गर्छ।
कमलबजार नगरपालिकाको वडा नम्बर ५ का अध्यक्ष सत्यराज तिमिल्सैनाले आफूलाई नगरपालिकाको प्रवक्ता दाबी गर्दै स्थानीय रेडियोमा अन्तर्वार्ता दिएर पत्रकारहरुलाइ गाली गलौज गरेपछि नेपाल पत्रकार महासंघ अछाम लगायत संचारकर्मी हरुले थप आधिकारिकता खोज्ने क्रममा उनी नगरपालिकाको आधिकारिक प्रवक्ता नभएर नक्कली प्रवक्ता भएको कुरा खुलेको हो ।
उनले कमलबजारस्थित एक एफएम रेडियोमा प्रसारण भएको र रेडियोको फेसबुक पेजमा भिडियो सहित लाइभ गरिएको अन्तर्वार्तामा नक्कली प्रवक्ता तिमिल्सैनाले पत्रकारलाई काम नपाएका र नालायक पत्रकार भनेर गाली गरेका छन । उनले प्रवक्ताको हैसियतमा धारणा राखे पनि कानुनी रूपमा यो पदमा नियुक्त नभएको तथ्य सार्वजनिक भएपछि यो विषय विवादको केन्द्र बनेको छ।
प्रवक्ताको हैसियतले दिएको अन्तर्वार्ता रेडियो स्टेशनमा प्रसारण भई फेसबुक पेजमा भिडियो सहित लाइभ भएपछि कमलबजारका स्थानीयहरूले आश्चर्य प्रकट गरेका छन्।
सत्यराज तिमिल्सैनाले प्रवक्ताको रूपमा व्यक्त गरेका कुरा आधिकारिक हुन् कि होइनन् भन्ने प्रश्नहरू उठ्न थालेका छन्। साथै, “यस्ता भ्रम फैलाउनेले जनतालाई गुमराह गरिरहेका छन्” भन्ने आलोचनाहरू पनि व्यापक छन्।
कमलबजारका एक स्थानीय बासिन्दाले भने, “यो समस्या केवल व्यक्तिको होइन, प्रणालीको हो। यस्ता गतिविधिले जनतामा सरकारी संयन्त्रप्रतिको विश्वास घटाउन सक्छ।”
सरकारी कार्यालयका सूचना प्रवाह र सञ्चार माध्यमसँग समन्वय गर्ने जिम्मेवारी पाएका पदहरूमा नक्कलीपन देखिनु गम्भीर गम्भीर समस्या हो । यो केवल प्रशासनिक कमजोरीको संकेत मात्र होइन, समाजमा पारदर्शिता र विश्वासको संकटको गहिरो संकेत हो ।
सूचना प्रवाहमा इमान्दारीको अभावले सरकारी कामकारबाहीप्रति नागरिकको विश्वास कमजोर बनाउँछ, जसले संस्थागत प्रभावकारिता र जनतासँगको सम्बन्धमा दीर्घकालीन असर पुर्याउन सक्छ।
यस्तो परिस्थितिले सही जानकारीमा पहुँच पाउनुपर्ने नागरिकको अधिकारमाथि प्रहार गर्छ र भ्रम फैलिने खतरा थप उचाल्छ। सञ्चार माध्यमसँगको कमजोर समन्वयले सूचनाको गलत प्रयोग, अनावश्यक विवाद, र समाजमा अस्थिरता ल्याउने सम्भावना पनि बढाउँछ।
यस घटनाले स्थानीय तहमा जिम्मेवारीको स्पष्टता र आधिकारिकताको अभावलाई समेत उजागर गरेको छ।
स्थानीय सरकारले प्रवक्ताको पद र त्यसको औपचारिक नियुक्तिबारे पारदर्शिता र स्पष्टता प्रदान गर्नु जरुरी छ। यसले यस्ता भ्रम र विवादलाई रोक्न मद्दत पुग्नेछ। स्थानीय तहमा पारदर्शिता, जवाफदेहिता, र सही प्रक्रियाको पालना लोकतान्त्रिक अभ्यासको आधारशिला हो ।
विश्लेषकहरुका अनुसार यस घटनाले अछाममा सरकारी पद र सूचनाको दुरुपयोगबारे गहिरो संवादको आवश्यकता देखाएको छ। यो सानो घटना जस्तो लागे पनि यसको दीर्घकालीन प्रभाव गम्भीर हुन सक्छ।
जसरी मुलुकका अन्य स्थानमा भूकम्पबारे चर्चा भइरहेको छ, अछाममा भने “नक्कली प्रवक्ता” को मुद्दा चर्किएको छ। अब यो प्रकरणले जनप्रतिनिधि र सरकारी संयन्त्रमा जिम्मेवारीको पारदर्शिता र विश्वसनीयता सुनिश्चित गर्न दबाब बढाउने अपेक्षा गरिएको छ।
कार्यपालिकाको कुनै सदस्य लाई प्रवक्ता तोकेको छैन – मेयर ढकाल
कमलबजार नगरपालिकाका प्रमुख यज्ञ प्रसाद ढकालले हाल नगर कार्यपालिकामा प्रवक्ताको जिम्मेवारी कुनै सदस्यलाई नदिएको बताएका छन्। झण्डै एक वर्ष अघि तत्कालीन प्रवक्ता सत्यराज तिमिल्सैनालाई जिम्मेवारीबाट हटाइएपछि, अहिले सम्म कुनै पनि कार्यपालिका सदस्यलाई प्रवक्ताको जिम्मेवारी नदिएको उनले स्पष्ट पारे। मेयर ढकालका अनुसार, सत्यराज तिमिल्सैनाले सरकारका बिरुद्ध खुला अभिव्यक्ति दिएका कारण उनलाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको हो।
तर, वडा नं. ५ का वडाध्यक्ष समेत रहेका तिमिल्सैनाले आफुलाई स्वघोषित नगर कार्यपालिकाको प्रवक्ता भनेर दाबी गर्दै आएका छन्। उनले हरेक सार्वजनिक कार्यक्रममा र मिडियासँगको अन्तर्वार्तामा आफुलाई नगरपालिकाको प्रवक्ता भएको घोषणा गर्दै आएका छन्।
सस्तो लोकप्रियताका भोका तिमिल्सैना स्वघोषित नगरपालिकाको प्रवक्ता मात्र होइन, सामाजिक सञ्जालमार्फत चलनचल्ती प्रचारप्रसारका स्टन्ट गर्दै आएका छन्। उनले आफ्नो स्तुतिगान गरिरहेका हुन्छन जुन सामाजिक सञ्जालमा छरपस्ट रूपमा प्रकट भैरहेको हुन्छ ।
नक्कली प्रवक्ता प्रकरणमा नेपाल पत्रकार महासंघ, अछामको ध्यानाकर्षण भएको छ। महासंघ, अछामका अध्यक्ष रमेश रावत यस विषयमा छलफलका लागि सदरमुकाम मंगलसैन पुगेका छन्।
उनले भने “पत्रकार मंगल ग्रहका होइनन्, कमजोरी गरे कता भनौं त्यति टाढा भन्ने छैन। पत्रकारले कमजोरी गरे वा गलत समाचार लेखेपनि पत्रकारले कानुन आकर्षित हुन्छ ।”
उनले थपे “त्यसैले वडा अध्यक्ष जत्तिको जिम्मेवार व्यक्ति रेडियोबाट गाली गलौज गर्न सुहाउँदो कुरा होइन। यो गम्भीर कुरा हो, हामी यस विषयमा निसन्देह कानूनी उपचार खोज्छौं।”
यो पनि पढ्नुहोस्
उपमेयर शारदाकाे विगत पनि धुमिल : प्रअ रहँदाको बिद्यालयको ३ लाख बढी बेरुजु कायमै
क्याटेगोरी : सुदूरपश्चिम
प्रतिक्रिया