पत्रकारलाई गाली गर्ने नक्कली प्रवक्ता बिरुद्द पत्रकार महासंघको बिज्ञप्ति
अछाम । कमलबजार नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष सत्यराज तिमिल्सैनाद्वारा पत्रकारहरूमाथि गालीगलौज गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघ अछाम शाखाले कडा आपत्ति जनाएको छ।
वडा अध्यक्ष तिमिल्सैनाले हालै एक सार्वजनिक अन्तर्वार्तामा “काम नभएका नालायक पत्रकार” भन्ने शब्द प्रयोग गर्दै अपमानजनक अभिव्यक्ति दिएका थिए। महासंघले यो घटनालाई अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिता पेसाको मर्यादाविरुद्ध भएको जनाएको छ।
नेपाल पत्रकार महासंघ, अछाम शाखाका अध्यक्ष रमेश रावत र सचिव भानु ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “पत्रकारहरूले कानूनी प्रक्रिया र व्यावसायिक मर्यादाभित्र रही आफ्नो काम गर्दै आएका छन्।
पत्रकारितामा कुनै कमजोरी देखिएमा कानूनी र व्यावसायिक प्रक्रियाबाट समाधान गर्न सकिने प्रावधानहरू छन्। तर जिम्मेवार पदमा बसेका व्यक्तिबाट सार्वजनिक रूपमा गालीगलौज गर्नु आपत्तिजनक र अस्वीकार्य छ।”
महासंघले कमलबजार – ५ का वडा अध्यक्ष तिमिल्सैनालाई तत्काल सार्वजनिक रूपमा माफी माग्न आग्रह गर्दै यस्ता गैरजिम्मेवार गतिविधि दोहोरिन नदिन चेतावनी दिएको छ।
साथै कानूनी रूपमा नगर प्रवक्ताको पदमा नियुक्त नभई आफूलाई प्रवक्ताको रूपमा प्रस्तुत गरेको विषयमा कमलबजार नगरकार्यपालिकाको गम्भीर ध्यानाकर्षण गराइएको छ।
महासंघले सम्बन्धित सञ्चारमाध्यम र पत्रकारहरूलाई पनि संयमित रहँदै आचारसंहिताको पूर्ण पालना गरेर काम गर्न आग्रह गरेको छ।
महासंघले घटनाको समाधानका लागि सरोकारवाला निकायहरूसँग समन्वय गरी कानूनी उपचार खोजिने स्पष्ट पारेको छ।
क्याटेगोरी : सुदूरपश्चिम
प्रतिक्रिया