कतार कम्पनिले घर पठाएका बैतडीका एक युवक भारतमा मृत फेला
बैतडी– बैतडीका एक युवक भारतमा मृत फेला परेका छन् ।
बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोला, खाल घर भएका २६ बर्षीय टेकेन्द्र धामी भारतमा मृत फेला परेका हुन् ।
रोजगारीको सिलसिलामा ६ महिना अघिमात्रै कतार पुगेका धामी भारतको बाटो हुँदै घर फर्किरहेका थिए । घर फर्कने क्रममा उनी भारतको मुरदावादमा मृत फेला परेका मृतकका काका शेरबहादुर धामीले बताए ।
रोजगारीका लागि कतार पुगेका धामीमा मानसिक समस्या देखिएको थियो । उनको कतारमै उपचार गराएर केही निको भएपछि घर पठाइएको थियो ।
कम्पनीले कतारबाट दिल्ली हुँदै काठमाण्डौंको टिकट काटेको भएपनि उनी दिल्लीबाट जहाज नचढेर सडकको बाटो घर फर्किरहेका थिए ।
दिल्लीबाट गाडीमा चढेका धामी गाडीमा तेल हाल्ने बेला भागेका र पछि खोजी गर्दा मृत फेला परेको जानकारी आएको बताइएको छ ।
भारतीय प्रहरीको सहयोगमा खोजी गर्दा धामी बुधबार बिहान मृत फेला परेका हुन् । मृतक धामीको घरमा श्रीमति र एक छोरी रहेकी छन् ।
क्याटेगोरी : सुदूरपश्चिम
प्रतिक्रिया