Hikmat Acharya
  • १ माघ २०८१, मंगलबार
  • काठमाडौं
Paschim Raibar

किशोरी सशक्तीकरणका लागी अछाममा कथा सुनाउँदै नजबुल खान


अछाम । सम विकास नेपाल अछामले किशोरी सशक्तीकरणका लागी जिल्लाका ४ वटा पालिकामा विशेष अभियान चलाएको छ  । ओबामा फाउन्डेसनको आर्थिक सहयोगमा सम विकास नेपाल मार्फत संचालनमा रहेको परियोजना हाम्रो पहिचानले जिल्लाको साँफेबगर र मंगलसैन नगरपालिका , बान्नीगढी जयगढ गाउँपालिका र चौरपाटी गाउँपालिकामा किशोरी सशक्तीकरणका लागी विशेष अभियान चलाई रहेको हो ।यही अभियान अन्तर्गत महिला तथा किशोरीका साथै सामाजिक न्यायका काममा २ दशकदेखि क्रियाशील मानव अधिकारकर्मी नजबुल खान अछाम आइपुगेकी छन् ।

छाउपडी प्रथा,बाल विवाह अशिक्षा र हानिकार परम्पराले गिजोलिएको जिल्लाका रुपमा हेरिएको अछाममा नजबुल खान (निलम) ले आफ्ना जीवनका भोगाई , संघर्षका कथा सुनाउँदै किशोरीलाई उत्प्रेरणाका साथै जाँगर प्रदान गरिरहेकी छन् । कोसी प्रदेशको उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ५ देउरी गाउँमा २०३६ सालमा जन्मिएकी खानका जीवनका भोगाई,संघर्ष सफलताका कथा दबिएका, हेपिएका र अवसर नपाएका महिला तथा किशोरीहरूका लागी प्रेरणाको स्रोत बन्दै आएका छन् ।

सातादिनदेखी अछाममै रहेकी खानले जिल्लाको सदरमुकाम मंगलसैन,बान्नीगढी जयगढ गाउँपालिका ,चौरपाटी गाउँपालिकाका गरि करिब १ सय ५० भन्दा बढी किशोरीहरुलाई आफ्नो सफलताको कथा सुनाउँदै सशक्तीकरणका सवालमा मैदानमा आउन आमन्त्रण गरि सकेकी छन् । खानको जीवनको भोगाई,संघर्ष र सफलताको कथा सुनेर अधिकांश कार्यक्रमका सहभागी प्रभावित बन्छन् ।

जिल्लाका ३ वटा पालिकाका १ सय ५० बढी किशोरीहरुलाई आसनमा महिला भाषणमा महिला र शासनमा महिला भन्ने नारामा एकीकृत गरिसकेकी खानले साँफेबगर नगरपालिका वडा नम्बर १२ र १३ का कम्तीमा ४० जना किशोरीहरुलाई यही माघ २ गते आफ्ना सफलताका कथा सुनाउने छन् ।
कोसी प्रदेशको भित्री मधेस उदयपुरमा जन्मिएर आफ्नो जीवनकालमा भोगेका भोगाई र सफलताका कथा सुदूरपश्चिमको अछाम जिल्लाका ऊर्जाशील किशोरीमाझ सुनाउन पाउँदा निकै खान निकै हर्षित बनेको बताउँछन् ।

अछामलाई पिछडिएको क्षेत्रका रुपमा हेर्ने गरिए पनि यहाँका किशोरीहरूमा देखीएको सकारात्मक सोच,आत्मबल र उनीहरूको सिक्ने इच्छाशत्ती देखेर अछामका किशोरीहरूमा आफ्नो बाल्यकालको प्रतिविम्ब देखेको बताउँदै उनले आगामी दिनमा किशोरीहरुलाई सामाजिक क्षेत्रमा मात्र नभई कानुनी, न्यायिक र नेतृत्वका क्षेत्रमा स्थापित गराउन आफ्नो क्षेत्रमा पूर्ण रूपले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

अछाम बसाइँका क्रममा अछाम र अछामी किशोरीहरू छुट्टै आत्मीय भावनात्मक सम्बन्ध स्थापित भएको बताउँदै उनले किशोरी तथा महिला सशक्तीकरणका लागी यो माटोलाई स्पर्श गर्न फेरि फेरि आइपुग्ने बताइन् ।

को हुन् नजबुल खान ?

नजबुल खान मुस्लिम समुदायकी एक विद्रोही छोरी हुन् । बुर्का फालेर समाज परिवर्तनको अभियानमा लागेकी नजबुल आभाशा राष्ट्रिय अभियानको केन्द्रीय संयोजक हुन् । नजबुल, महिला अधिकारको क्षेत्रमा एक सशक्त नाम पनि हो । उदयपुरमा जन्मिएकी नजबुल ४५ वर्षको भइन् ।

बुर्काबाहिरकी नजबुल

स १प ९४४४ नम्बरको इन्टाइसर मोटरसाइकलमा उनी उदयपुरका गाउँ गाउँ पुग्छिन् । महिलामाथिका दमन र ज्यादतीविरुद्ध खरो उत्रिन्छिन् । र, पीडकलाई सजाय दिन खुब खटिन्छिन् । मुस्लिम बस्तीमा पुगेर महिलाहरूलाई विभिन्न समूह बनाई एकजुट हुन आग्रह गर्छिन् । आफूजस्तै विद्रोही हुन अनुरोध गर्छिन् । सानैदेखि विद्रोही स्वभावकी थिइन् नजबुल खान । समाजले उनलाई महिला अधिकारकर्मीको रूपमा चिन्छ । समाज परिवर्तनका लागि उनको अभियान जारी छ । त्यही अभियानको प्रेममा परेकी नजबुलको अझै विवाह भएको छैन । प्रथम राष्ट्रिय बेटी सम्मेलनकी संयोजक नजबुल स्वयं बेटी भएर छोराझैँ काम गरेकोमा र आफू मुस्लिम भएकोमा गर्व गर्छिन् ।

होचो कदकी नजबुल खान प्रायः सर्ट पाइन्टमा हुन्छिन् । टिपटप भएर हिँड्छिन् । दबिएको आवाजमा आफ्ना कुरा राख्छिन्, ‘बुर्का नलगाएको पनि २१ वर्ष भइसक्यो ।’यसरी हिँडुँला भन्ने कहिल्यै सोचिनन् । किनकि, उनले स्कुल देख्न पाइनन् । किताब–कापी बोकेर स्कुल जाने उमेरमा उनका सखीहरूको विवाह भयो । उनको पनि विवाह हुनुपर्थ्यो । भएन । किनभने उनले बुर्का त्याग्नु थियो ।

१८ वर्षको उमेरमा उनी प्रौढ शिक्षा पढ्न गइन् । बिहे गर्ने समय भइसकेको अवस्थामा किन पढ्न जानुप‍र्यो भन्दै घरमा आमाबुबाले विरोध पनि गरे । पढ्ने भोकले उनलाई अनौपचारिक शिक्षामा सामेल गराइछाड्यो । ‘कखरा’ र ‘एबिसिडी’ सिक्न तल्लीन भइन् । जवानीमा चिनेका अक्षरले उनीभित्र बोल्न सक्ने आँट बढायो । प्रौढ शिक्षाका कक्षा लिन शिरमा बुर्का हालेर जान्थिन् । अक्षरहरूको सङ्गतले उनले बुर्कालाई शिरबाटै हटाइदिइन् । एकाएक बुर्का लत्यााइदिएकोमा बुबाआमाले गाली गरे, हप्काए, सखीहरू धेरै रिसाए । आफन्त छोरी बिगारी भनेर उनका आमाबुबासँग खुनासिए । तर, उनले कसैलाई वास्ता गरिनन् । उनको जिद्दीका अगाडि अन्ततः सबैले घुँडा टेके ।

एक वर्षको प्रौढ शिक्षापछि १९ वर्षको उमेरमा गाउँकै जनज्योति प्राथमिक विद्यालयमा कक्षा ४ मा नाम लेखाइन् । एकातर्फ ज्याला मजदुरीको काम गर्थिन्, अर्कोतर्फ विद्यालय जान–आउन थालिन् । र, २०६४ सालमा जनता मावि देउरी उदयपुरबाट उनले एसएलसी पास गरिन् । त्यही क्रममा उनी टेम्पोचालकको अवतारमा देखिइन् । उदयपुर गाईघाटदेखि देउरी जलजलेसम्म दैनिक टेम्पो चलाउन थालिन् । सम्झिन्छिन्, ‘मुस्लिम समुदायकी बेटीले टेम्पो चलाई भनेर कतिले कुरा काटे । तर, मैले चलाएँ ।’नेपालमा उनी पहिलो मुस्लिम महिला टेम्पो चालक हुन् ।

हिम्मतवाली 
मुस्लिम समुदायमा महिला माउडे ९नाइके० बनेको अझै पनि पुरुषहरू मन पराउँदैनन् । र, महिलाले घरबाहिर चर्को बोलेको पनि रुचाउँदैनन् । बच्चामा साइकल चलाउन खोज्दा उनका साइँला दाइ नजरुल मियाले कुटेका थिए, धेरै वर्षपछि टेम्पो चलाउँदा त्यही दाइले उनलाई माया गरे । किनभने त्यही टेम्पो चलाएर उनले घरपरिवारको खर्च जुटाउँदै पढ्न थालेकी थिइन् । भन्छिन्, ‘मेरो हिम्मत देखेर दाइ पनि चुपचाप बसिदियो ।’
असाधारण काम गरेर देखाएकी थिइन् नजबुलले आफ्नो परिवारमा । तर, उनी आफ्नो परिवारका लागि मात्रै बनेकी थिइनन् । हृदयमा आफूजस्तै मुस्लिम समुदायका दिदीबहिनीहरूले पढेको हेर्न चाहन्थिन् । शिक्षाको अभावमा कोही पिल्सिन नपरोस् भन्ने ध्यानले उनलाई पिरोल्थ्यो । पढ्न उमेरले छेक्दैन । उमेरले बैँस निखार्ने वेला प्रौढ शिक्षा पढिन् । मुस्लिम समुदायबाहेक गैर मुस्लिम समुदायका महिलालाई समेत शिक्षाप्रति उत्प्रेरित गरिन् । भन्छिन्, ‘बालविवाह, अनमेल विवाह, बहुविवाह रोकेर चेलीबेटीलाई पढाउन कोसिस गरेँ ।’

उनकै पहलमा खुलेको मदरसाबाट ६ सय जना मुस्लिम महिलाले शिक्षा प्राप्त गरेका छन् । उदयपुरको सुन्दर पुरमा बिस्मिल्लाह मदरसा, त्रियुगा नगरपालिका–६ जलजलेमा इस्लामिक दारु कुरान जिल्ला शिक्षा कार्यालयमा दर्ता गराएर मदरसा शिक्षामार्फत मुस्लिम समुदायका महिलालाई शिक्षा लिन प्रेरित गर्न थालिन् । र आफैँले पनि त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडा गाईघाटबाट कक्षा १२ को परीक्षा उत्तीर्ण गरिन् । अहिले उनी स्नातक तहको अध्ययन गर्दै छिन् । अहिले उदयपुरवासी भन्छन्, ‘उदयपुरको सान, नजबुल खान ।’

जनआन्दोलनले खोसेको स्वर
आवाजविहीनको आवाज बनेकी नजबुल स्वयंको आवाज भने धसिएको छ । आवाज फर्काउन धेरै कोसिस गरिन्, सकिनन् । आफ्ना कुरा राख्न पनि उनलाई सकस छ । उनी भन्छिन्, ‘आफ्नै स्वरको अभावमा पीडित छु ।’ घरबाट बाहिर निस्किन हिचकिचाउने मुस्लिम महिलामध्ये नजबुल २०६२ सालको लोकतान्त्रिक जनआन्दोलनका क्रममा सडकमा आएकी थिइन् ।

सात दलको अगुवाइमा आह्वान भएको उक्त आन्दोलनमा सहभागी भएका वेला २०६३ साल वैशाख ५ गते उनको घाँटीमा अश्रुग्याँसको गोलीको खोका लाग्यो । उनी ५ घण्टासम्म बेहोस भइन् । उनलाई बिपी कोइराला अस्पताल धरानमा उपचारका लागि भर्ना गरियो । उनी बाँचिन् तर उनको स्वर सधैँका लागि दबियो । भोकल कर्डमा असर परेकाले उनको स्वर दबिएको छ । फसेको आवाजमा उनी साह्रै मसिनो स्वरमा बोल्न सक्छिन् । अति मसिनो आवाज बोकेर महिला हिंसाविरुद्ध लागिपरेकी छिन् । भन्छिन्, ‘मेरो स्वर खोसिए पनि हिम्मत खोसिएको छैन ।’

सेनेटरी प्याड
कन्डम निःशुल्क पाइन्छ तर सेनेटरी प्याड निःशुल्क पाइँदैन । महिलालाई स्थानीय तहले निःशुल्क रूपमा सेनेटरी प्याड वितरण गर्नुपर्ने अभियान सञ्चालन गरिरहेकी छिन् उनी । विभिन्न प्रदेशमा गएर स्थानीय तहमा छलफलसमेत गरिरहेकी छिन् । उनी भन्छिन्, ‘कन्डम रहर हो, सेनेटरी प्याड बाध्यता, कहिलेसम्म कपडा प्रयोग गर्ने रु’ उनी जुर्मुराइन् । सबै गरिब महिलाले प्याड किनेर प्रयोग गर्न सक्ने अवस्था अझै पनि नेपालमा छैन ।
कपडा प्रयोगका कारण महिलाको योनीमा विभिन्न किसिमका सङ्क्रमण हुन्छ । मुस्लिम महिलाहरू अत्यन्तै पिछडिएकोमा उनी दुःखी छिन् । भन्छिन्, ‘सेनेटेरी प्याड निःशुल्क वितरण नगरुन्जेल हाम्रो अभियान जारी रहनेछ ।’सरकारले यस अभियानलाई सहयोग पुर्याएको खण्डमा उनको अभियानले सार्थकता पाउँथ्यो पनि । सामाजिक कामकै लागि भनेर उनले विभिन्न सङ्घसंस्थामा आबद्ध भएर उदयपुरमा काम गरिरहेकी छिन् । मुस्लिम, दलित, जनजाति, एकल महिलाको उत्थान र हक अधिकारका लागि निरन्तर लागिपरेकी छिन् । गरिबीसँग जुधिरहेका महिलाले निःशुल्क प्याड प्रयोग गर्न पाउँदा कति खुसी होलान् ?

बेटी सम्मेलनकी अभियन्ता
०७५ माघमा उदयपुरमा राष्ट्रिय बेटी सम्मेलन नै गरिन् उनले । आसनमा, भाषणमा र शासनमा महिलाको पहुँच पुर्याउन यतिखेर नजबुल निरन्तर लागिपरेकी छिन् । उनी भन्छिन्, ‘महिलामाथिको हिंसा अन्त्यका लागि प्रथम बेटी सम्मेलन गरियो । यस कार्यक्रमले छोरी बेटीलाई एकजुट हुन अभिप्रेरित गरेको छ ।’देशभरका जिल्ला समन्वय समिति रहेको र दुई जिल्लामा मात्र महिलालाई प्रमुख बनाएकोमा दुःख व्यक्त गर्छिन् । महिलाले नेतृत्व नै गर्न सक्दैनन् भन्ने गलत मानसिकता त्याग्नुपर्ने ठान्छिन् उनी । उनी भन्छिन्, ‘महिलाले अवसर पाए नेतृत्व सम्हाल्न सक्छन् । बरु अवसर नखोसिदिए हुन्थ्यो ।’ बेटी सम्मेलन अभियानलाई उनले सातै प्रदेशमा लगिन् । महिलाअंकित स्तम्भ बनाउनुपर्नेलगायत चार बुँदे घोषणापत्र नै जारी गर्दै खबरदारी गरिन् । ‘समानता, समावेशी र मानवअधिकारका लागि सहन नपरोस् हिंसा र दुर्व्यवहार, स्वास्थ्य र शिक्षालाई बनाऔँ चेलिबेटी सशक्तीकरणको हतियार’ मूल नारा राखेर उदयपुरमा प्रथम बेटी सम्मेलन गरी आफूलाई थप सशक्त बनाएकी छिन् ।

जीवनलाई उपहार ठान्ने नजबुल
उनका लागि जीवन सङ्घर्षको पर्याय हो । र, आफूले फेरेको सास प्रकृतिको उपहार हो । भन्छिन्, ‘समाजकै हिस्सा बाँचिरहेका छौँ भने समाजप्रति बफादार किन नहुने ?  मिजासिली स्वभावकी नजबुललाई आफ्नो कर्ममाथि पूर्ण विश्वास छ । सामान्य हुरीले उनी हल्लिन्नन् । सामाजिक अभियन्ताकाे रूपमा चिनिएकी नजबुल समाजकै खातिर मर्न पाए हुन्थ्यो भन्ने सोच्छिन् । कत्तिले भन्छन्, ‘नजबुल एक हठी अभियन्ता हुन् ।’ सहयोगी मनकी नजबुल आफूले पाएको दुःख अरूले व्यहोर्नु नपरोस् भन्छिन् । पढाइबाट कोही वञ्चित नहोस् भन्ने उनको अभियान नै छ । भन्छिन्, बालापनमा पढ्ने अधिकार कसैको नखोसियोस् ।’

प्रायः उमेर ढल्केपछि पढ्न लाज मान्छन् । तर, उनले लाज मानिनन् । पढ्न नपाएको पिरमा पढिन् । र, आफूजस्तै महिलाका लागि नजबुल सहयोगी हात बनिन् । अहिले पनि उनी दबङ लेडी, हक्की नजबुल, निडर नजबुल, विद्रोही छोरीजस्ता उपनामले चिनिन्छिन् । उनी भन्छिन्, ‘मलाई ईश्वरले मजस्तै पीडित महिला तथा बालबालिकाका लागि खटाएका हुन् ।’जीवनलाई ईश्वरीय वरदान ठान्ने नजबुल निधारमारातो अक्षताका टीका लगाएर हिँड्छिन् । उनी मधेसकी आकर्षण हुन् । मुस्लिम महिलाका लागि बुर्का त्यागेर गरेको संघर्षले नजबुललाई बुर्काबाहिर ल्याएरै छाड्यो ।


क्याटेगोरी : पश्चिम खोज, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode