बैतडीमा १३ बढी किशोरीलाई क्यान्सरविरुद्ध एचपीभी खोप दिइने
बैतडी – बैतडीमा १३ हजार ५ सय ६४ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप दिइने भएको छ ।
यही माघ २२ गतेदेखि देशैभर सञ्चालन हुने अभियान अन्तर्गत बैतडीमा पनि तयारी तीव्र भइरहेको स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए ।
अभियान अन्तर्गत जिल्लाभरीका विद्यालयहरुमा कक्षा ६ देखि १० सम्म अध्ययनरत १३ हजार २६३ जना किशोरी र विद्यालय बाहिर रहेका १० देखि १४ बर्ष सम्मका ३ सय ७१ जना किशोरी गरेर १३ हजार ५६४ जनालाई एचपीभी खोप दिने तयारी भएको खोप सुपरभाइजर निरीक्षक भट्टले जानकारी दिए ।
बैतडीमा माध्यमिक तहका २ सय ३८ ओटा विद्यालय र ९० ओटा स्वास्थ्य संस्थाहरुलाई खोप केन्द्र तोकिएको छ ।
अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाका खोप केन्द्रहरुमार्फत छुटेका किशोरीहरुलाई खोप दिइने स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले बताए ।
खोप अभियानलाई प्रभावकारी बनाउनका लागि जिल्लाभरीका स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख र स्वास्थ्यचौकी प्रमुखहरुलाई तालिम दिइसकिएको छ ।
यस्तै प्रत्येक स्थानीय तहहरुले खोप अभियानलाई प्रभावकारी बनाउन स्थानीयस्तरमा तालिम तथा प्रशिक्षणका कार्यक्रमहरु सञ्चालन गरिरहेको सूचना अधिकारी लेखकले बताए ।
यस्तै खोप अभियान सञ्चालनका बेला हुन सक्ने केही अवाञ्छित घटनाहरुलाई व्यवस्थापनका लागि चिकित्सक सहितको टोली तयारी अवस्थामा रहेको खोप सुपरभाइजर निरीक्षक भट्टले जानकारी दिए ।
पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपीभी खोप पूर्ण सुरक्षित रहेकाले निर्धक्क रुपमा लगाउनुपर्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. सुशील विकले बताए ।
नेपालमा पाठेघरको मुखको क्यान्सरबाट बर्षेनी महिलाहरुले ज्यान गुमाउनुपर्ने बाध्यता रहेकाले त्यो रोग लाग्नै नदिन खोप अभियान सञ्चालन हुन लागेको उनले बताए ।
यसअघि नमूनाको रुपमा देशभरीका १० हजार जना किशोरीहरुलाई यो खोप दिइसकिएको छ ।
त्यो बेला यो खोप दुईमात्रा दिइएको भएपनि अभियानका बेला भने एकमात्रा मात्रै खोप दिइने खोप सुपरभाइजर निरीक्षक भट्टले बताए ।
एकमात्रा खोपले काम गर्ने भएकाले एकमात्रामात्रै दिइने उनले बताए । आगामी बर्षदेखि यो खोपलाई नियमित खोपको रुपमा दिइने समेत उनले बताए ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया