अछामको एक बिद्यालयमा दिनहुँ ढल्छन् छात्रा : मास हिस्टेरिया वा मानसिक तनाव ?

अछाम । मंगलसेन नगरपालिका-७ स्थित जाल्पादेवी माध्यमिक विद्यालय विगत दुई महिनादेखि अशान्त अवस्थामा छ। हरेक दिन बिहान १० बजे विद्यालय सुरु हुँदासम्म कोलाहल मच्चिन्छ, जसले विद्यालयको सामान्य संचालनमा बाधा पुर्याएको छ।
कक्षा २ की एक छात्रा कक्षामा अचानक बेहोस भइन् । विद्यालयकी नर्स मोतीसरा सुवेदीले उनको जाँच गरेपछि, दोस्रो दिन पनि उनी उस्तै अवस्थामा देखिन। यसपछि कक्षाका अरु विद्यार्थीहरूमा पनि यस्तै लक्षण देखा परे। अहिले जाल्पा माविमा लगभग हरेक दिन विद्यार्थीहरूमा यस्तो समस्या देखिएको छ। एक दिन २७ विद्यार्थीहरू यस्तै समस्याबाट पीडित भए।
विद्यालयका कक्षा २ देखि कक्षा १० सम्मका छात्राहरूमा मानसिक तनावका कारण शारीरिक समस्याहरू—जस्तै टाउको दुख्ने, पेट दुख्ने, शरीर काँप्ने, रिंगटा लागेर ढल्ने—देखिएका छन्। विद्यालयकी नर्स सुवेदीका अनुसार केही विद्यार्थीका अभिभावक रोजगारको लागि भारतमा बस्दै छन् भने कतिपयका घरमा मदिरा सेवन र होहल्लाले मानसिक तनाव थपिएको छ। केही अभिभावकहरूले भने अन्धविश्वासको कारण बच्चालाई विद्यालय पठाउन बन्द गरेका छन्।
विशेषगरी १२ वर्षीया एक छात्रामा यो समस्या गम्भीर भएको छ। उनका बुवाआमा भारतमा काम गर्दै छन् र उनी एक्लो बस्दै आएकी छिन्। विद्यालयका शिक्षकका अनुसार ती छात्रा मानसिक तनावका कारण शारीरिक समस्या भोग्दै आएकी हुन् ।
प्रधानाध्यापक बलबहादुर थ्यायतका अनुसार मंसिर पहिलो साता कक्षा २ का छात्रामा समस्या सुरु भएको थियाे । विद्यालयले नगरपालिकामा पत्र लेखेर मनोसामाजिक काउन्सिलिङ सेवा पनि शुरू गर्यो। तर यस्ता समस्याहरू अझै बढिरहेका छन्।
विभिन्न मनोसामाजिक परामर्शकर्ताले यस्ता समस्याहरूलाई ‘मास हिस्टोरिया’ भनेर व्याख्या गरेका छन्। कमजोर आर्थिक अवस्था भएका, साथमा बुवाआमा नभएका, घरमा लैंगिक हिंसाका भइराख्ने छात्रामा यस्तो समस्या बढी देखिएको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) प्रमुख गंगा बुढा मगरले बताइन् । ‘विद्यालयमा गएर पनि काउन्सिलिङ गर्यौं । गम्भीर समस्या देखिएकालाई औषधि खुवाउन पनि सुरु गरेका छौं,’ उनले भनिन्, ‘धेरै प्रयास गर्दा पनि समस्या बढिरहेको छ । अब सबै सरोकारवाला बसेर यसलाई छलफलको विषय बनाउन आवश्यक छ ।’
केही न केही तनावमा भएका छात्रा यसरी ढल्ने गरेको र त्यसलाई मास हिस्टोरिया भनिने उनले बताइन् । उनका अनुसार ११ जना किशोरीमध्ये ७ जना किशोरीले लैंगिकतामा आधारित हिंसा (जीवीभी) को सामना गरिरहेका छन् । अभिाभवकले उपचार गर्न नमान्ने, औषधि खान नदिने गरेकाले समस्या झन् जटिल बन्दै गएको उनले बताइन् ।
मनोविद् डा. नरेन्द्रसिंह ठगुन्ना यस्तो समस्या आफ्नो मनोभाव राम्रोसँग व्यक्त गर्न नसकेपछि उत्पन्न हुने बताउँछन् । उनले यस्तो अवस्थामा मनोभावहरू अवचेत रूपमा कुराहरू प्रकट हुने बताए । उनले मनभित्रको उकुसमुकुस लामो समय रहँदा यसले मनोवैज्ञानिक समस्या निम्त्याउने गर्छ । उनले भने, ‘अझ लैंगिकतामा आधारित हिंसा भोगेकामा यस्तो समस्या बढी देखिन्छ । किनकि, उनीहरूले यस्तो कुरा सामाजिक रुपमा पनि भन्न सकिरहेका हुँदैनन् ।’ यस्तो समस्या धेरै व्यक्तिमा एकैचोटि देखिनुको कारणमा मन मिल्ने साथीमा यस्तो समस्या देखिएपछि यो कुरा त्यस्तै समस्या भएका अन्य साथीहरूमा पनि उस्तै गरी प्रकट हुने उनले बताए ।

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : पश्चिम खोज, पालिका, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा
प्रतिक्रिया