Hikmat Acharya
  • २९ फागुन २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

मंगलसैन नगरपालिका

दोस्रो कार्यकालको दुई वर्ष : मेयर बोहराका मुख्य निर्णय किन अलपत्र ?


धनगढी : जिल्लाको सदरमुकाम मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहरा दोस्रो कार्यकालका लागि निर्वाचित भएको दुई वर्ष पूरा भइसकेको छ।

२०७९ साल बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा तत्कालीन गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता नम बहादुर शाहीलाई पराजित गर्दै बोहरा नगर प्रमुख बनेका थिए।

निर्वाचनपछिको पहिलो दिन जेठ ९ गते सोमबार उनले पदभार ग्रहण गर्दै स्वास्थ्य क्षेत्रलाई केन्द्रमा राखेर प्रचारमुखी निर्णय गरेका थिए।

उनले टोलटोलमा निःशुल्क स्वास्थ्य बिमा, गर्भवती र सुत्केरीका लागि नगरका दुर्गम दुई स्थानमा हेलिप्याड निर्माण तथा नगरस्तरीय शववाहनको व्यवस्था गर्ने घोषणा गरेका थिए। तर तीन वर्ष पुग्न लाग्दा पनि ती निर्णय कार्यान्वयनको पर्खाइमा छन्।

हेलिप्याड निर्माणको निर्णय अलपत्र

नगर प्रमुख बोहराले जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलालाई सुविधा सम्पन्न अस्पतालमा समयमै पुर्याउन जिल्ला अस्पतालबाट टाढा रहेका वडा नं. १३ बस्ती र वडा नं. १२ छापडाँडामा हेलिप्याड निर्माण गर्ने निर्णय गरेका थिए।

नगरपालिकाले गत आर्थिक वर्षमा हेलिप्याड निर्माणका लागि बजेट विनियोजन गरेको भए पनि जग्गा अभावका कारण काम अघि बढ्न नसकेको बोहराले स्वीकार गरेका छन्। “यदि हेलिप्याडका लागि स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराए पुनः बजेट विनियोजन गरी निर्माण प्रक्रिया अघि बढाउन सकिन्छ,” नगर प्रमुख बोहराले बताए।

स्वास्थ्य बिमा योजना प्रभावहीन

नगरपालिकाले आर्थिक तथा सामाजिक उत्थानका लागि नगरबासीलाई स्वास्थ्य बिमाको पहुँचमा ल्याउने निर्णय गरेको थियो। तर हालसम्म मंगलसेन नगरपालिकाका ८ हजार २१ जना मात्र स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध छन्, जसमध्ये अधिकांशको नवीकरण समेत भएको छैन ।

शववाहन र बाल संरक्षण कोष पनि अधुरै

नगरस्तरमा शववाहन सेवा सञ्चालन गर्ने तथा जोखिममा रहेका बालबालिकाको संरक्षणका लागि पालिकास्तरीय बाल संरक्षण कोष स्थापना गर्ने निर्णय पनि नगर प्रमुख बोहराले गरेका थिए। तर हालसम्म न त शववाहन उपलब्ध भएको छ, न त बाल संरक्षण कोष स्थापना भएको छ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारीका अनुसार, “नगरपालिकामा शववाहनको व्यवस्था हुन सकेको छैन, साथै जोखिममा रहेका बालबालिकाहरूका लागि घोषणा गरिएको संरक्षण कोष पनि अझै स्थापना हुन सकेको छैन।”

नगर प्रमुख बोहराले स्वास्थ्य, सामाजिक सुरक्षा तथा पूर्वाधार निर्माणका विषयमा गरेका ठूला घोषणाहरू कार्यान्वयन हुन नसक्दा स्थानीयहरू निराश भएका छन्।


क्याटेगोरी : पश्चिम खोज, पालिका, राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode