Hikmat Acharya
  • २८ फागुन २०८१, बुधबार
  • काठमाडौं
Paschim Raibar

रामारोशनमा अब विद्यार्थीलाई पढ्नै पर्ने बाध्यता : शिक्षकलाई पढाउनै पर्ने जिम्मेवारी !

"शिक्षामा आमूल परिवर्तन: रामारोशनको नयाँ अभियान"


अछाम । अछामको विकट मानिने रामारोशन गाउँपालिकामा शिक्षाको गुणस्तरमा आमूल परिवर्तन ल्याउने उद्देश्यले एउटा प्रभावशाली अभियान सुरु गरिएको छ।

‘रामारोशन शैक्षिक रूपान्तरण अभियान’ नाम दिइएको यो अभियान गाउँपालिकाको कार्यपालिका सदस्य, सम्पूर्ण राजनीतिक दल, र आम रामारोशनबासीको सहभागितामा सञ्चालन भइरहेको छ। प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीको  नेतृत्वमा सञ्चालित यस अभियानले दोस्रो चरण पूरा गरिसकेको छ।

पहिलो चरणमा, गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूसँग विभिन्न विषयमा छलफल गरी गुणस्तर अभिवृद्धिका लागि प्रतिबद्धता पत्रमा हस्ताक्षर गराइएको छ। उक्त सम्झौताअनुसार, प्रत्येक शिक्षकले दैनिक रूपमा हरेक विद्यार्थीलाई अनिवार्य रूपमा तीन वटा प्रश्नको उत्तर सिकाउने सहमति कार्यान्वयन गरिरहेका छन् ।

दोस्रो चरणमा प्रत्येक विद्यालयमा शिक्षक, विद्यार्थी, र अभिभावकबिच छलफल गरियो। प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीका अनुसार अब तेस्रो चरणमा विद्यालयहरूको सघन अनुगमन गरिनेछ। यस चरणमा शिक्षक र विद्यार्थीको मूल्याङ्कन गरिनेछ, जसको आधारमा पुरस्कार र दण्डको व्यवस्था गरिनेछ।

 अभिभावकमाझ आशाकाे सञ्चार 

गाउँपालिकाको वडा नम्बर ५ नेटाकोटमा रहेको नीलकण्ठ माध्यमिक विद्यालयको प्राङ्गणमा भेला भएका सयौँ अभिभावकले यो अभियानले शिक्षामा सुधार ल्याउने विश्वास व्यक्त गरेका छन्। अभियान अन्तर्गत विद्यालयहरूको भौतिक पूर्वाधार विकासदेखि परीक्षा प्रणालीको सुधारसम्मका योजनाहरू ल्याइएका छन्। गाउँपालिका अध्यक्ष मानबहादुर साउदका अनुसार अभियानले विद्यार्थीलाई पाठ्यक्रमका सबै विषयवस्तु राम्रोसँग बुझ्ने बनाउन मद्दत गर्नेछ।

प्रमुख प्रशासकीय अधिकृत भण्डारीले रामारोशनका विद्यार्थीहरूलाई आगामी दश वर्षभित्र सबै क्षेत्रमा अब्बल बनाउने लक्ष्य लिएको बताएका छन्। यो अभियानको अवधारणा भण्डारीकै हो। यसअघि कालिकोटको पचालझरना गाउँपालिकामा काम गर्दा भण्डारीले यस्तै अभियान सञ्चालन गरेका थिए । रामारोशनमा सरुवा भएपछि पनि उनले उक्त अभियानलाई निरन्तरता दिएका छ।

रामारोशन गाउँपालिकाका अध्यक्ष साउद प्रमुख प्रशासकीय अधिकृत भण्डारीको अभियानलाई पूर्ण रूपमा समर्थन गर्ने प्रतिबद्धता सहित अभियानमा प्रतिबद्ध भएर लागी परेका छन्  ।

गाउँपालिकाले सुरु गरेको अभियानले पालिका भित्रका सामुदायिक विद्यालयको भौतिक पुर्वाधार विकास देखि परिक्षा प्रणालिको सुधार सम्मका योजना बनाएको छ । विद्यालयमा रहेका वालवालिकालाई पाठ्यक्रममा रहेका विषयबस्तु अनिवार्य जान्न सक्ने बनाउने गरि अभियान अगाडी बढेको गाउँपालिकाका  अध्यक्ष मान बहादुर साउदले बताए ।

अनिवार्य पढाइ नीति लागू
अभियान अनुसार, विद्यार्थीलाई अनिवार्य रूपमा पढ्नुपर्ने नीति लागू गरिएको छ। शिक्षकले अनिवार्य रूपमा पढाउनै पर्ने, विद्यार्थीले सिक्नै पर्ने, र विद्यार्थीले हरेक दिन तीन वटा प्रश्नको उत्तर अनिवार्य रूपमा जान्नुपर्ने नियम बनाइएको छ। तीन प्रश्नको उत्तर नजान्ने विद्यार्थीलाई घोक्न लगाइनेछ भने तीन प्रश्न सिकाउन नसक्ने शिक्षकलाई कारबाही गरिने गाउँपालिकाले जनाएको छ।

परीक्षा प्रणालीमा सुधार
अभियान अन्तर्गत परीक्षा प्रणालीमा व्यापक सुधार ल्याइनेछ। परीक्षा हलमा विद्यार्थीहरूले कुनै पनि चिट प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ। साथै, मोबाइल जस्ता उपकरणहरू परीक्षा हलमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। परीक्षा प्रक्रियाको प्रत्यक्ष अनुगमन गाउँपालिकाले गर्नेछ भने उत्तरपुस्तिका समेत पालिकाले नै मूल्याङ्कन गर्ने व्यवस्था मिलाइएको छ।

रामारोशन शैक्षिक रूपान्तरण अभियानले शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। यो अभियानले विद्यार्थी, शिक्षक, र अभिभावकहरूलाई सचेत बनाई शिक्षाको गुणस्तर सुधार्ने विश्वास गरिएको छ। शिक्षा क्षेत्रको विकासका लागि यस्तो सशक्त पहल स्थानीय स्तरमा प्रभावकारी सिद्ध हुनसक्ने उदाहरण बन्न सक्नेछ।


क्याटेगोरी : पश्चिम खोज, पालिका, शिक्षा, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode