Hikmat Acharya
  • २१ चैत्र २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

२३ वर्षअघिको अछाम आक्रमण: समय बित्यो, घाउ मेटिएन


अछाम – तत्कालीन विद्रोही नेकपा (माओवादी) ले अछाम आक्रमण गरेको आज २३ वर्ष पूरा भएको छ। २०५८ साल फागुन ४ गते माओवादीले जिल्ला सदरमुकाम मंगलसेन र साँफेबगर एकैसाथ आक्रमण गरी ठूलो जनधनको क्षति गराएको थियो।

आक्रमणमा प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्री, उनकी पत्नी, राष्ट्रिय अनुसन्धानका निरीक्षकसहित १२२ जनाले ज्यान गुमाएका थिए। मारिनेहरूमा ५३ जना नेपाली सेना, ५९ प्रहरी, दुई जना निजामती कर्मचारी र आठ जना सर्वसाधारण थिए। त्यस्तै, साँफेबगर विमानस्थल सुरक्षा गार्डमा कार्यरत २७ जना प्रहरी पनि माओवादी आक्रमणमा मारिएका थिए। विद्रोहीतर्फको क्षतिको यकिन विवरण उपलब्ध छैन।

माओवादी सशस्त्र युद्धको सबैभन्दा ठूलो आक्रमण मानिएको यस घटनाले अछामको समग्र विकासमा गम्भीर असर पुर्याएको थियो। नेपाली कांग्रेसका नेता तथा घटनाका प्रत्यक्षदर्शी नमबहादुर शाहीका अनुसार उक्त आक्रमणपछि अछामका सरकारी संरचना तहसनहस भएका थिए। मंगलसेनस्थित तत्कालीन जिल्ला प्रहरी कार्यालयको गेटमा रहेको विद्युत् पोल आज पनि त्यो भयावह रातको स्मरण गराउँछ।

आक्रमणका कारण ऐतिहासिक अछाम दरबारसहित सम्पूर्ण सरकारी कार्यालय ध्वस्त भए। नागरिकको बैंकमा रहेको नगद र गरगहना माओवादीले लुटे। कतिपयले आफ्नो पैसा फिर्ता पाएनन्। आक्रमणपछि जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्र कमजोर भयो, जसको असर अहिलेसम्म पनि देखिन्छ।

१० वर्षसम्म चलेको माओवादी युद्धमा १७ हजारभन्दा बढीको ज्यान गयो भने अर्बौंको धनसम्पत्ति नष्ट भयो। शान्ति प्रक्रियामा आएपछि माओवादी पटक–पटक सत्तामा पुगे पनि अछाम र अछामीको अवस्था भने खासै सुधार हुन सकेन।

युद्धले अछामलाई दशकौँ पछाडि धकेल्यो। सरकारी कार्यालयहरू नयाँ स्थानमा सारिए, तर स्थानीय नागरिकलाई अझै पनि सास्ती छ। पुनर्निर्माणमा अर्बौं रकम खर्च भए पनि आर्थिक विकासको गति सुस्त छ। लगानीको वातावरण नबन्दा जिल्लाको समग्र उन्नति प्रभावित भएको छ।

आजको दिनलाई अछामीहरू इतिहासकै कालो दिनका रूपमा सम्झन्छन्।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode