टिकापुरमा डण्डी स्वामीको सालिक अनावरण : को हुन् उनी ?

कैलाली । सुदूरपश्चिममा प्रचलित होरी, धमारी, भूवो जस्ता महत्वपूर्ण सांगीतिक तथा सांस्कृतिक खेलहरूको प्रतिपादन, संरक्षण तथा प्रवर्द्धन गर्ने स्वामी केवलानन्द अर्थात् डण्डी स्वामीको सालिक अनावरण गरिएको छ। कैलालीको टिकापुरस्थित जालवा देवी मन्दिर परिसरमा एक विशेष कार्यक्रमकाबीच उक्त सालिक अनावरण गरिएको हो।
डण्डी स्वामी सुदूरपश्चिमको मौलिक संगीत, शब्द, ताल, चाल तथा संस्कृतिका प्रेरणादायी व्यक्तित्व थिए। उनले क्षेत्रीय सांस्कृतिक पहिचानलाई जीवन्त बनाउँदै संगीत र परम्परागत खेलहरूलाई समाजमा लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। स्वामीको योगदानलाई सम्मान गर्दै जालवा देवी समाजको अगुवाइमा टिकापुरस्थित जालवा देवी मन्दिर परिसरमा उनको सालिक स्थापना गरिएको हो।
सालिक अनावरण समारोहमा स्थानीय समाजसेवी, सांस्कृतिक अभियन्ता, बुद्धिजीवी तथा धार्मिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले डण्डी स्वामीको योगदानबारे चर्चा गर्दै सुदूरपश्चिमी सांस्कृतिक सम्पदाको संरक्षणको आवश्यकता औंल्याए।
जालवा देवी समाजका अगुवाहरूले लोकसंस्कृति तथा परम्परागत कलाहरूलाई नयाँ पुस्तासम्म पुर्याउन यस्ता पहलकदमी आवश्यक रहेकोमा जोड दिए। उनीहरूले सालिक स्थापनामात्र नभई भविष्यमै सांस्कृतिक गतिविधिहरूलाई थप प्रवर्द्धन गर्ने योजनाहरू अघि सार्नुपर्ने उल्लेख गरे। सालिक अनावरणका लागि जालवा देवी समाजको विशेष पहल रहेको थियो भने स्थानीय समुदाय, बुद्धिजीवीहरू तथा अन्य सहयोगी व्यक्तिहरूको समेत महत्वपूर्ण योगदान रह्यो।
को थिए डण्डी स्वामी?
स्वामी केवलानन्द, जसलाई डण्डी स्वामीको रूपमा पनि चिनिन्छ। डण्डिस्वामीबारे जानकार तथा अगुवा पूर्ण रावलका अनुसार डण्डिस्वामीले आफ्नो महत्वपूर्ण समय साविकको कालिका गाविस (हाल बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५, कालिका बाँचकोट) स्थित बडिनाव र सुँगाली हेराउ ढुङ्गामा आश्रम स्थापना गरेर बिताएका थिए।
स्वामीले १९५० देखि १९६० को दशकमा शिक्षाको ज्योति फैलाउनुका साथै समाजको संस्कृतिसँग मेल खाने परम्परागत कला र खेलहरूको प्रवर्द्धन गरेका थिए। उनले विशेषगरी होरी, भूभोज र धमारी जस्ता सांस्कृतिक विधालाई लोकप्रिय बनाएका थिए। बडिनावमा बसोबास गर्दा उनले वि.सं. १९५७ मा “अष्टाङ्ग योग” नामक पुस्तकसमेत प्रकाशित गरेका थिए।
डण्डी स्वामीका शिष्यहरू र उनीहरूको योगदान
डण्डी स्वामीले आफ्ना २१ जना शिष्यहरूलाई उनीहरूको रुचि र स्वभावअनुसार शिक्षा प्रदान गरेका थिए। उनका शिष्यहरू अछामको राजनीति, होरी गायन, बाजागाजा, सवाई साहित्य तथा ज्योतिषशास्त्रमा प्रसिद्धि कमाएका थिए।
केही प्रमुख शिष्यहरू:
इन्द्र सिंह रावल (जुपु, अछाम) – राजनीतिज्ञ
झपट रावल (ओलीगाउँ, अछाम) – न्यायाधीश
राम मिझार (तिमिल्सैन) – सवाई साहित्य लेखक
फुछु जोशी (कालागाउँ/रोल) – प्रख्यात ज्योतिष
साइमल ढोली (लुगाणा) – प्रसिद्ध बाजागाजा बादक
नरपति ढोली (जुपु, अछाम) – पारंगत बाजागाजा बादक
ज्योति रावल र अमर रावल (सुँगाली) – पारंगत गायक तथा संगीतकार
डण्डी स्वामी भारतको कश्मीरबाट नेपाल आएको जनश्रुति पाइन्छ। स्थानीय जानकारहरूका अनुसार उनी प्रारम्भमा बाँचकोटस्थित करवीर साउँदको घरमा बस्न आएका थिए। करवीर साउँद र केवलानन्द डण्डी स्वामी ब्रिटिश सेनामा साथी थिए भन्ने जनश्रुति रहेको छ। त्यसपछि उनले बडिनावमा कुटी निर्माण गरी बसेका थिए भने पछि सुँगालीमा अर्को कुटी स्थापना गरेका थिए।
डण्डी स्वामीको नाम केवलानन्द भए पनि “डण्डी स्वामी” भने उनको पद थियो। नाथ सम्प्रदायमा एकदण्डी, दण्डी, त्रीदण्डी र चौदण्डी भन्ने परम्परा रहँदै आएको छ। स्वामीले १६ छन्दको प्रयोग गरी ३३ अध्यायमा रामचरित्र तथा ३९ अध्यायमा कृष्ण चरित्रलाई होरी संगीतको रूपमा प्रस्तुत गरेका थिए।
वि.सं. १९९२ तिर उनी सुगालीस्थित नवाघर कुटीमा ब्रह्मलिन भएका थिए। उनका योगदानलाई सम्मान गर्दै टिकापुरमा उनको सालिक स्थापना गरिएको छ, जसले सुदूरपश्चिमी सांस्कृतिक सम्पदालाई जीवन्त राख्ने विश्वास गरिएको छ।

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : पश्चिम खोज, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया