जिसस भवनमा गृहमन्त्रीको उद्घाटन : समन्वय प्रमुख कुँवर किन अनुपस्थित ?

अछाम । अछाममा जिल्ला भूकम्पीय पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाई कार्यालयको उद्घाटन समारोह सुरु भएको छ।
उक्त कार्यालय जिल्ला समन्वय समिति अछामको भवनमा स्थापना गरिएको हो। उद्घाटनका लागि गृहमन्त्री रमेश लेखक अछाम आएका छन्।
समारोहमा गृहमन्त्री लेखक प्रमुख अतिथिको रूपमा सहभागी भए पनि जिल्ला समन्वय समिति अछामका प्रमुख ललित कुँवर भने अनुपस्थित रहेका छन्।
समन्वय समितिको भवनमै कार्यालय स्थापना भए पनि उद्घाटन कार्यक्रममा समन्वय प्रमुख कुँवर नआउँदा विभिन्न अड्कल काटिएको छ।
सूत्रहरूका अनुसार, उद्घाटन कार्यक्रमको अध्यक्षता गर्ने विषयमा असन्तुष्टि जनाउँदै कुँवर कार्यक्रमबाट टाढिएका हुन्।
समन्वय प्रमुख कुँवरले उद्घाटन समारोहको अध्यक्षता गर्ने इच्छा व्यक्त गरेका थिए, तर राष्ट्रिय बिपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. भीष्म कुमार भुषालले नै अध्यक्षता ग्रहण गरेपछि उनी असन्तुष्ट बनेका हुन्।
कार्यक्रम चलिरहेकै बेला समन्वय समिति प्रमुख कुँवर कार्यालयमै रहे पनि उपस्थित नभएपछि विभिन्न चर्चा हुन थालेका छन्। गृहमन्त्री रमेश लेखक र समन्वय प्रमुख ललित कुँवर दुवै नेपाली कांग्रेसबाट निर्वाचित नेता हुन् ।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया