मदिरा बिरुद्द बरेतिलेक टोलबासी एकजुट : गरे यस्ता निर्णय !

अछाम – बान्नीगढी जयगढ गाउँपालिका–३ बरदादेवी बरेतिलेक टोलका बासिन्दाले समाज सुधारको एक महत्वपूर्ण कदम चालेका छन्। टोलका महिला, बालबालिका, ज्येष्ठ नागरिक लगायत सबै स्थानीय मिलेर पूर्ण रूपमा मदिरा निषेध गर्ने निर्णय गरेका छन्।
गाउँपालिका उपाध्यक्ष बिन्दु रावल र वडा अध्यक्ष नवराज साउँदको विशेष रोहवरमा आयोजित भेलाले मदिरा बिक्री, वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाउने कठोर निर्णय गरेको हो। टोलका बासिन्दाले अबदेखि मदिरा बिक्री गर्न नपाइने, मदिरा सेवन गरेर टोलमा प्रवेश गर्न नपाइने र नियम उल्लंघन गरेमा कडा जरिवाना गर्ने व्यवस्था गरेका छन्।
टोलबासीले सर्वसम्मत रूपमा पारित गरेको निर्णयअनुसार:
मदिरा सेवन गरी टोलमा प्रवेश गर्नेलाई १,५०० रुपैयाँ जरिवाना।
मदिरा सेवन गरी होहल्ला गर्दा र प्रहरी चौकीसम्म मुद्दा पुग्नुपर्ने स्थिति सिर्जना भएमा ३,००० रुपैयाँ जरिवाना।
मेडिकल परीक्षण गर्नुपर्ने स्थिति आएमा ४,५०० रुपैयाँ जरिवाना।
मदिरा व्यवस्थापन समिति गठन
यस अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न रम्भा तिमिल्सैनाको अध्यक्षतामा मदिरा व्यवस्थापन समिति गठन गरिएको छ। उक्त समितिले वडास्तरीय मदिरा नियन्त्रण निर्णयहरूको कार्यान्वयनको अनुगमन गर्ने उल्लंघन गर्नेहरूमाथि कारबाही प्रक्रिया अघि बढाउने जिम्मेवारी पाएको छ।
उपाध्यक्ष बिन्दु रावलले यो निर्णयलाई सामाजिक जागरणको उदाहरण भन्दै टोलबासीलाई धन्यवाद ज्ञापन गरिन्। उनले ग्रामिण भेगका महिला, बालबालिका र ज्येष्ठ नागरिकले समाज सुधारका लागि उठाएको यो कदम समाज रूपान्तरणको सुरुवात भएको बताइन्। यो परिवर्तनको सुरुवात भएको बताउदै उनले अन्य ठाउमा पनि यस्तो कार्यको सुरुवात गर्नुपर्नेमा उनको जोड छ ।
वडा अध्यक्ष नवराज साउँदका अनुसार यो अभियानलाई प्रभावकारी बनाउन वडा कार्यालयको पूर्ण सहयोग रहनेछ।
बरेतिलेकका स्थानीयले यो निर्णयलाई सशक्त रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। टोलका महिलाहरूले मदिराका कारण परिवार, समाज र विशेषगरी बालबालिका प्रभावित भएकाले यसको उन्मूलन अत्यावश्यक रहेकोमा जोड दिदै आएका छन् ।

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : सुदूरपश्चिम
प्रतिक्रिया