बाजुराका कराँते खेलाडी पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्न भारत जाँदै
खप्तड छेडेदह गाउँपालिकाको भव्य विदाइ

धनगढी – सुदूरपश्चिमका दुर्गम गाउँहरूमा पनि पछिल्लो समय खेलकुद क्षेत्र उल्लेखनीय रूपमा फस्टाउँदै गएको छ। युवाहरूमा खेलप्रतिको आकर्षण, स्रोतसाधनको अभावमा समेत देखिएको सफलता र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलाडीहरूको सहभागिताले यसलाई पुष्टि गर्छ।
फुटबल, भलिबल, क्रिकेटदेखि कराँतेसम्म गाउँगाउँमा विविध खेलकुद कार्यक्रमहरू आयोजना भइरहेका छन्। कहिल्यै राष्ट्रपतिको रनिङ शिल्डबाहेक अन्य खेल नहुने बाजुरा जिल्लामा अहिले गोल्डकप र क्रिकेटका क्षेत्रीय प्रतियोगितासमेत हुन थालेका छन्। अझ रोचक त के भने, बाजुराका खेलाडीहरू अब अन्तर्राष्ट्रिय मैदानसम्म पुगेका छन्।
बाजुराबाट पहिलोपटक कराँते खेलमा सहभागिता जनाउन ८ जना खेलाडी भारतको झारखण्ड जाँदैछन्। दक्षिण एशियाली खुला कराँते प्रतियोगिता झारखण्ड राज्यको गिरिडीहस्थित टाउन हलमा आगामी बैशाख ५ देखि ७ गतेसम्म हुने छ। क्षेत्रीय छनोटबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पुग्न सफल भए पनि जिल्लाबाट पहिलोपटक छनोट भएर खेलाडी सहभागी हुन लागेको हो।
खेल प्रशिक्षक नरेन्द्र ओलीका अनुसार—तीन दशक भारतको मुम्बईमा कराँते खेलमा बिताएका उनी अहिले खप्तड छेडेदह गाउँपालिकामा प्रशिक्षकको रूपमा कार्यरत छन्। सोही प्रतियोगितामा उनी रेफ्रीको भूमिकामा पनि रहनेछन्। टोलीलाई गाउँपालिका अध्यक्ष दिलबहादुर रावत र उपाध्यक्ष बिशु देवी नाथले औपचारिक रूपमा विदाइ गरेका छन्।
प्रतियोगितामा सहभागी हुने खेलाडीहरूः
सुशील बहादुर कठायत, शुभम रावत, अमित रावत, अमृत बुढा, सुरेन्द्रा कुमारी रावत, रमा रावत, सरिता सुनार र गीता कठायत।
त्यस्तै, आगामी चैत्र २६ देखि २९ गतेसम्म कैलालीको धनगढी रंगशालामा हुने सुदूरपश्चिम प्रदेशस्तरीय कराँते प्रतियोगिताका लागि कमल रावत, कमल खड्का, केशबहादुर रोकाया, प्रदीप सुनार, रोहित विक, लक्ष्मी कुमारी कठायत, कोपिला कुमारी शाही, दीपिका चदारा र अनुराधा सुनार पनि छनोट भएका छन्।
पालिकाले यी खेलाडीहरूलाई एक महिनासम्म बन्द प्रशिक्षणमा राखी प्रतियोगिताका लागि तयारी गराएको थियो। टोली व्यवस्थापकका रूपमा रमेश बहादुर रावत र प्रशिक्षक नरेन्द्र ओली स्वयं सहभागी हुनेछन्।
खेलाडीलाई सहयोगस्वरूप मष्टेश्वरी मावि डोगडीले ३० हजार रुपैयाँ तथा न्यू बढालेक निर्माण सेवाका व्यवसायी अंगबहादुर ओलीले पोशाकसहित ५२ हजार रुपैयाँ सहयोग गरेका छन्। बाँकी खर्च गाउँपालिकाले व्यहोर्ने जनाएको छ।
गाउँपालिका अध्यक्ष दिलबहादुर रावत भन्छन्, “खेलकुद भनेको गाउँ, समाज र देश चिनाउने माध्यम हो। पालिकाले अब खेलाडी उत्पादन र विकासमै लगानी केन्द्रित गर्छ।”
त्यस्तै, उपाध्यक्ष बिशु देवी नाथले भनिन्, “खेलकुदले मान, सम्मान र आम्दानी पनि दिन सक्छ। त्यसैले प्रशिक्षक राखेर नियमित अभ्यास गराउने र लगानी बढाउने नीति अपनाएका छौं।”
निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दबहादुर रावतले भने, “बाजुराबाट पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी पठाउन पाउनु पालिकाका लागि गौरवको विषय हो।”खेल प्रशिक्षक नरेन्द्र ओली नेपाल कराँते महासंघका राष्ट्रिय निर्णायक तथा प्रशिक्षक हुन्। उनी राष्ट्रिय गोजुरियो कराँते संघका केन्द्रीय कोषाध्यक्षसमेत छन्। साथसाथै अन्तर्राष्ट्रिय स्तरका मार्सल आर्ट प्रशिक्षकसमेत हुन्।
खप्तड छेडेदह गाउँपालिकाले जिल्लामै पहिलोपटक एशियाली खेलमा खेलाडी पठाउने अवसर पाएकोमा गर्व अनुभव गरेको छ।
क्याटेगोरी : खेलकुद, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया