जयगढ आगलागी : एमाले अछामले १ लाख ११ हजार सहयोग गर्ने

अछाम । नेकपा एमाले अछामले जयगढ बजारमा मंगलबार राति भएको भीषण आगलागी पीडितलाई १ लाख ११ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
पार्टीका जिल्ला अध्यक्ष चन्द्र बोहराले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै सहयोगको घोषणा गर्नुभएको हो ।
विज्ञप्तिमा भनिएको छ “जयगढ बजारमा भएको आगलागीबाट ३१ भन्दा बढी घर, पसल तथा टहरा जलेर नष्ट भई करोडौंको क्षति भएको घटनाले हाम्रो पार्टी नेकपा एमाले मर्माहत भएको छ। आगलागीले नागरिक विस्थापित हुने गरी निम्तिएको विपत्तिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं।”
अध्यक्ष बोहराद्वारा हस्ताक्षरित विज्ञप्तिमा पीडितहरुको तत्काल राहत,व्यवस्थापन र क्षतिपूर्तिका लागि नेपाल सरकार तथा सम्बन्धित निकायलाई आवश्यक पहल गर्न आग्रह गरिएको छ।
साथै पीडितको व्यवस्थापनमा सक्रिय रुपमा खटिन पार्टीका सम्पूर्ण पंक्ति र कार्यकर्तालाई आह्वानसमेत गरिएको छ।
यस्ता घटनाबाट ठूलो धनजनको क्षति हुने अवस्था देखिएकाले आवश्यक पूर्वतयारीको अभावप्रति चिन्ता व्यक्त गर्दै एमाले अछामले आगामी दिनमा यस्ता विपद् दोहोरिन नदिन सतर्कता अपनाउन र पूर्वतयारीका कार्यक्रम अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ।
विपद्को घडीमा पीडितको उद्धार तथा पुनर्स्थापनाका लागि निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै नेकपा एमाले अछामले सबैलाई आवश्यक सहयोगका लागि आग्रह समेत गरेको छ।
क्याटेगोरी : पालिका, राजनीति, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया