Hikmat Acharya
  • ५ वैशाख २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

जयगढ बजार आगलागी : उद्धारको मुखुण्डोमा भयो लाखौँको चोरी


अछाम । गएको मंगलवार साँझ करिब ७ः२० बजे बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजार भीषण आगलागीको चपेटामा पर्‍यो। जयगढको बीच बजारमा रहेको आईएमई सेन्टरबाट सुरु भएको आगोले डरलाग्दो रूप लिँदै वरपरका घर तथा पसलहरूमा फैलिँदा पुरै बजार त्रसित बन्यो ।

स्थानीय व्यापारी र पीडितहरूको अनुसार, आगलागीबाट २३ वटा घरहरूमा सञ्चालनमा रहेका ३५ वटा पसलहरू पूर्ण रूपमा नष्ट भएका छन्। । क्षतिको अनुमान ८ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

सामान जोगाउने प्रयास, तर…..
आगलागी सुरु भएपछि व्यापारीहरू थोरै भएपनि सामानहरु जोगाउन सकिन्छ कि भन्ने आशाले आफैंले पसलबाट सामान निकालेर सडकमा राख्ने प्रयास गरे । प्रारम्भिक उद्दार कार्यमा देखिएको सक्रियता र सहकार्यको भावना केहीबेरमै छायामा पर्‍यो,जब सडकमा राखिएका सामानहरू चोरी हुन थाले।

आगलागीबाट जोगाउन बाहिर निकालेका २० पेटी तेल एकैछिनमा गायब भए, व्यापारी खकेन्द्र साउँदले दुःख पोख्दै भने,मेरो झन्डै १ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

त्यस्तै, रिदम इलेक्ट्रोनिक्स पसलबाट निकालिएका मोबाइल सेटहरू, इलेक्ट्रोनिक उपकरणहरू र अन्य महँगा सामानहरू पनि आगलागीकै बेला चोरी भएको पीडित व्यापारीहरूको भनाइ छ।

उद्धार गर्न आएका होइनन, चोरी गर्न आएका थिए
आगलागी पछि बजार क्षेत्रमा मानिसहरुको भीड देखिन थाल्यो। व्यापारिहरूले सोचेका थिए,‘मानविय समवेदना देखाउन र उद्दारमा सहयोग गर्न आएका होलान्।’ तर, सोचेको विपरित सडकमा राखिएका सामग्रीहरू चोरी भएको थाहा पाएसंगै ती व्यापारीहरू थप आहत बनेका छन् ।

स्थानीय व्यापारी ठण्डराज शर्माले आगालागीका बेला बाहिर निकालिएका लुगाकपडा चोरी भएको उल्लेख गरेका छन् ।

आगलागीपछि गाउँपालिकाले आयोजना गरेको एक छलफल कार्यक्रममा सरोकारवाला तथा पीडितहरूले आपत्ति जनाउँदै घटनाको निष्पक्ष छानबिन र दोषी पहिचान गरेर कारवाही गर्न माग गरेका छन्।

बिपदको बेला सहयोग गर्नुको सट्टा चोरी गर्नु निन्दनीय र घृणित कार्य भएको बताउदै पीडितले यस बिषयमा आवश्यक अनुसन्धान गर्न आवश्यक रहेकोमा उनीहरुको जोड छ ।


क्याटेगोरी : अपराध, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode