पाठेघरको मुखको प्रारम्भिक अवस्थाबारे किन गर्ने VIA जाँच ?

गएकाे फागुन महिनालाई VIA (Visual Inspection with Acetic Acid) महिना भनेर मनाउने क्रममा अछाम जिल्लाको बान्निगढी जयगढ गाउँपालिकामा प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। मिति २०८१ फागुन ४ गतेदेखि १२ गतेसम्म सञ्चालन गरिएको उक्त शिविरमा गाउँपालिकाका ६ वटै वडाबाट कुल ६६९ जना महिलाको VIA परीक्षण गरिएको थियो।
शिविरमा परीक्षण गरिएका मध्ये ६२ जनामा VIA पोजेटिभ देखिएको थियो भने १० जनामा पाठेघरको मुखमा मासु पलाएको र २० जनामा पाठेघर खसेको समस्या पाइएको थियो। परीक्षणमा सहभागी हुने महिलाको भीडका कारण सबैलाई पर्याप्त समय दिन नसकिए पनि अत्यावश्यक सूचना भने दिइएको थियो। कतिपय महिलाहरूले घर फर्किएपछि फोनमार्फत आफ्ना स्वास्थ्यबारे थप जानकारी लिँदा स्वास्थ्यप्रति उनीहरूको चासो देखिएकोमा एक स्वास्थ्यकर्मीका नाताले निकै खुसी छु।
परीक्षणपूर्व धेरै महिला दिदीबहिनीहरू प्रजनन स्वास्थ्यका विषयमा छलफल गर्न लजाउँथे तर यसपटकको शिविरमा उनीहरूको सक्रिय उपस्थिति र सहभागिताले यौन तथा प्रजनन स्वास्थ्यप्रति उनीहरू सजग बन्दै गएको संकेत गर्छ।
शिविरपछि पनि धेरै महिलाहरूले फोनमार्फत आफ्नो जिज्ञासा राखिरहनु भएको छ। त्यसैले यो लेख पढिरहनु भएका सम्पूर्ण दिदीबहिनीहरूलाई आग्रह गर्दछु—आफू मात्र होइन, आफ्नो परिवार र समुदायका महिलाहरूलाई पनि VIA परीक्षणको महत्त्व र पाठेघरको मुखको क्यान्सरबारे जानकारी गराउनुहोस्।
के हो त VIA?
VIA अर्थात Visual Inspection with Acetic Acid एक सरल, सस्तो र गैर-आक्रामक विधि हो, जसबाट पाठेघरको मुखको प्रारम्भिक अवस्था (पूर्व-क्यान्सर) पहिचान गर्न सकिन्छ। यस परीक्षणमा ५% एसिटिक एसिड प्रयोग गरिन्छ, जसले क्यान्सरग्रस्त कोषहरूमा रङको परिवर्तन ल्याउँछ।
पाठेघरको मुखको क्यान्सरको मुख्य कारण भनेको मानव पापिलोमा भाइरस (HPV) हो, जुन यौन सम्पर्कमार्फत सर्ने गर्दछ।
पाठेघरको क्यान्सरबाट बच्ने उपायहरू
१. HPV खोप: HPV भाइरसको उच्च जोखिमलाई न्यूनीकरण गर्न खोप अत्यन्त प्रभावकारी हुन्छ।
२. स्क्रिनिङको नियमितता: कमजोर प्रतिरक्षा प्रणाली भएका वा एचआईभी संक्रमित महिलाले समय समयमा स्क्रिनिङ गराउनु आवश्यक हुन्छ।
३. धूम्रपानबाट टाढा: धूम्रपानले क्यान्सरको जोखिम बढाउँछ, त्यसैले यसबाट टाढा रहनु उत्तम।
४. लामो समयसम्मको संक्रमण: HPV संक्रमण लामो समय रहँदा पाठेघरको कोशिकामा परिवर्तन आउन सक्छ, त्यसैले समयमै जोखिम पत्ता लगाउनु जरुरी छ।
५. लक्षणबिना जोखिम: प्रारम्भिक चरणमा लक्षण नदेखिन सक्छ, तर पछि गम्भीर लक्षण देखिन सक्छन्। त्यसैले ५/५ वर्षमा एकपटक जाँच आवश्यक छ।
६. प्याप स्मीयर परीक्षण: २१ वर्ष पार गरेका वा तीन वर्षदेखि यौन सम्पर्कमा रहेका महिलालाई नियमित परीक्षण गर्नुपर्छ।
७. सुरक्षित यौन सम्पर्क: संक्रमण रोक्न सुरक्षित यौन सम्बन्ध राख्नु आवश्यक छ।
८. स्वस्थ जीवनशैली: सन्तुलित आहार, व्यायाम र पर्याप्त निद्राले प्रतिरक्षा प्रणाली बलियो हुन्छ।
९. पारिवारिक इतिहास: यदि परिवारमा क्यान्सरको इतिहास छ भने चिकित्सकसँग नियमित सल्लाह लिनुहोस्।
VIA जाँच मात्रले क्यान्सर एकिन हुन्छ?
VIA एक प्रारम्भिक स्क्रिनिङ विधि हो। यदि यसबाट असामान्यता देखियो भने अन्य विधिहरू पनि अपनाइन्छन्:
-
Pap Smear
-
Biopsy (कोश परीक्षण)
-
Colposcopy (बढी विवरणसहित निरीक्षण)
-
Imaging Tests (CT, MRI, PET स्क्यान)
यी परीक्षणहरूले क्यान्सरको अवस्था र फैलावटबारे विस्तृत जानकारी दिन्छन्।
महिलाहरूको प्रजनन स्वास्थ्यप्रति सचेत हुनु, नियमित परीक्षण गराउनु, सुरक्षित यौन सम्पर्क कायम राख्नु र स्वस्थ जीवनशैली अपनाउनु—यी सबै उपायले पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ। आफ्नो मात्र नभई समुदायका अन्य महिलाहरूलाई पनि जानकारी गराउँदै यस सम्वन्धि सचेत गराऔं।
लेखक रेणु सिँह ( रजिस्टर्ड मिड्वाइफ ) बान्नीगढी जयगढ गाउँपालिका अन्तर्गत दर्ना स्वास्थ्य चाैकीमा कार्यरत छन् ।
क्याटेगोरी : शिक्षा, स्वास्थ्य-शिक्षा
प्रतिक्रिया