नेकपा एमाले अछाम
नयाँ अधिवेशन, पुरानो विश्वास : बोहराकै नेतृत्व खोज्दै अछाम एमाले

अछाम । नेकपा (एमाले) अछामको ९ औं जिल्ला अधिवेशनको तयारी तीव्र गतिमा अगाडि बढिरहेको छ। भाेली बैशाख १३ गते मंगलैनमा हुने अधिवेशनलाइ पार्टीका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराख भट्टले उद्घाट्न गर्ने छन् । अधवेशनबाट चयन हुने एमाले अछामकाे नेतृत्वको सवालले व्यापक बहस सिर्जना गरिरहेको छ।
वर्तमान अध्यक्ष चन्द्र बोहरा सहित ७ जनाले पार्टीको जिल्ला नेतृत्वका लागि आफ्नो दाबी प्रस्तुत गरेका छन् ।
वर्तमान अध्यक्ष बोहरा सहित हालका सचिव भीम रावल (कालोटोपी) बम बहादुर बि.सी.शिवराज उपाध्याय, तिलक कुँवर,डी.वि. साउँद,हिरेण्ड भट्टराइले जिल्ला अध्यक्षका लागि आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।
यसै सन्दर्भमा अधिकांश पार्टी नेता तथा कार्यकर्ताहरूले वर्तमान जिल्ला अध्यक्ष चन्द्र बोहरालाई पुनः एक पटक जिल्ला अध्यक्षको जिम्मेवारी दिनुपर्नेमा जोड दिइरहेका छन्।
नेकपा एमाले विभाजनपछिको कठिन राजनीतिक परिस्थितिमा चन्द्र बोहराले अछाममा पार्टीलाई जोगाउन, एकीकृत गर्न र सशक्त रूपमा अगाडि बढाउन जुन खालको जिम्मेवारी वहन गरे, त्यसको व्यापक प्रशंसा भइरहेको छ। डा. भीम रावल र केपी शर्मा ओलीबीचको गहिरो मतभेदका कारण राष्ट्रिय तहमै पार्टी संकटमा पर्दै गएको बेला बोहराले अछाममा संगठनलाई सम्हाल्न दृढता, धैर्य र कूटनीतिक कौशल देखाएका थिए।
बोहराको नेतृत्वमा अछाममा एमालेको संगठन पुनः क्रियाशील र जीवित रहन सफल भएको भन्दै स्थानीय तहका नेतादेखि गाउँ तहका कार्यकर्ता सम्मले उनको प्रशंसा गरिरहेका छन्। उनी नेतृत्वमा रहँदा जिल्लामा कार्यकर्ता प्रशिक्षण, सांगठनिक बैठक, जनसंपर्क, नीति संवाद लगायतका कार्यक्रमहरू नियमित रूपमा सञ्चालन भएका थिए।
नेकपा एमालेका एक नेता भन्छन्, “पार्टीको अस्तित्व नै संकटमा परेको बेला बोहराले आफूभन्दा माथिल्लो तहका नेताहरूसँग विचार–संवाद गरेर जिल्लामा पार्टीलाई टुट्नबाट जोगाउन महत्वपूर्ण भूमिका खेले। यस्तो नेताको अहिले अझै आवश्यक छ।”
सर्वसम्मत नेतृत्वको माग
पार्टीका अधिकांश स्थानीय नेताहरू चन्द्र बोहराको नेतृत्वलाई सर्वसम्मत रूपमा अनुमोदन गरिनुपर्नेमा जोड दिइरहेका छन्। अधिवेशनपछि हुने नेतृत्व चयन प्रक्रियामा प्रतिस्पर्धा नभई सहमतिका आधारमा बोहरालाई अध्यक्षमा निरन्तरता दिनुपर्ने मत बिस्तारै बलियो बन्दै गएको छ।
पार्टीसँग नजिक रहेका एक युवा नेता भन्छन्, “चुनावी प्रतिस्पर्धाले संगठनमा फूट ल्याउन सक्ने सम्भावना हुन्छ। बोहराजस्ता अनुभवसंपन्न र लोकप्रिय नेताको सर्वसम्मत चयनले संगठनमा एकता र ऊर्जा ल्याउँछ।”
चन्द्र बोहराले युवापुस्तासँगको संवाद र सहकार्यलाई प्राथमिकतामा राख्दै नेतृत्व गरेको भन्दै युवा कार्यकर्ताहरू पनि उनको पक्षमा उभिएका छन्। संगठनमा अनुशासन, नीति तथा विचारमा स्पष्टता र आगामी रणनीतिमा नयापन ल्याउने क्षमता बोहरामा रहेको उनीहरू बताउँछन्।
युवासंघ अछामका एक प्रतिनिधिले भने, “बोहराले हामी युवाहरूसँग निरन्तर संवाद गरेका छन्। हाम्रो सल्लाहलाई सम्मान गर्ने, अग्रसरता दिन सक्ने नेताको हामीलाई आवश्यकता छ।”
एमाले अछाम अहिले गम्भीर सांगठनिक मोडमा रहेको छ। राजनीतिक ध्रुवीकरण, वैचारिक अस्पष्टता र आन्तरिक गुटबन्दीको सम्भावनाबीच बोहराको नेतृत्वले पुनः पार्टीलाई मजबुत बनाउने विश्वास लिइएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार, “चन्द्र बोहराको नेतृत्व विगतमा परीक्षित भइसकेको छ। अहिलेको चुनौतीको घडीमा अनुभवी नेतृत्व पार्टीका लागि अनिवार्य छ।”
जिल्लाभरबाट आउने प्रतिनिधिहरू अधिवेशनमा सहभागी हुन तयार भइरहेका छन्। अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नुका साथै पार्टीको आगामी नीति, कार्यक्रम र संगठन सुदृढीकरणका विषयमा रणनीति तय गर्नेछ।
यस अधिवेशनलाई अछाम एमालेका लागि महत्वपूर्ण मोडको रूपमा हेरिएको छ, जसमा नेतृत्व चयनको निर्णय पार्टीको आगामी यात्राको दिशा निर्धारण गर्नेछ। र यही सन्दर्भमा चन्द्र बोहराको नाम सबैभन्दा बलियो उम्मेदवारका रूपमा स्थापित हुँदै गएको छ।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया