Hikmat Acharya
  • १३ वैशाख २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

महिला आन्दोलनकी अगुवा बिन्दु : उप सचिव बन्दै एमाले अछामलाई गति दिने अठोट


अछाम । अछाम जिल्लाको राजनीतिक र सामाजिक क्षेत्रमा संघर्ष र समर्पणको अर्को नाम बनिसकेकी बिन्दु रावलले नेकपा एमाले अछामको उपसचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।

नेकपा एमाले अछामको ९ औँ जिल्ला अधिवेशन सुरु भएसंगै उनले उम्मेद्वारी घोषणा गरेकी हुन् ।

उनको उम्मेदवारीसँगै जिल्लाको महिला सशक्तिकरणको आन्दोलनमा नयाँ ऊर्जा थपिएको अनुभूति भएको प्रतिनिधिहरुको भनाई छ ।

भविष्यका लागि सम्भावना बोकेको सशक्त महिला नेतृको रुपमा हेरिएकी रावलको उम्मेद्वारीलाइ महत्वका साथ हेरिएको छ ।

बिन्दुको संघर्ष र योगदान

बिन्दु रावलको राजनीतिक र सामाजिक यात्रामा समर्पण, इमान्दारिताको असल उदाहरण भेटिन्छ।

२०६२ सालदेखि २०६५ सम्म महिला अधिकार मञ्च अछामको जिल्ला अध्यक्ष भएर उनले अछाममा महिलाका सवाललाई उठाउने अभियान प्रारम्भ गरेकी थिइन्।

२०६६ देखि २०७१ सम्म अनेम संघ अछामको जिल्ला सचिवको जिम्मेवारीमा रहँदै उनले दुई कार्यकाल महिला आन्दोलनको नेतृत्व गरिन्।

त्यसपछि उनले गैरसरकारी संस्थामा पनि आफ्नो सक्रियता देखाइन् । २०६८ देखि २०७१ सम्म सेवक नेपाल संस्थाको उपाध्यक्ष भई महिला, बालबालिका र वञ्चित समुदायको अधिकारका लागि कार्य गरिन्। २०७२ देखि २०७८ सम्म उनले सोही संस्थामा टिम लिडर भएर नेतृत्व प्रदान गरिन्।

२०७० सालमा उनले अन्तरपार्टी महिला सञ्जाल अछामको सचिव भएर, अनि २०७५ सालमा सोही सञ्जालको जिल्ला अध्यक्ष बनेर राजनीतिक र सामाजिक आन्दोलनमा गहिरो छाप छोडिन् ।

२०७३ देखि २०७४ सम्म महिला मानव अधिकार रक्षक सञ्जाल अछामको जिल्ला अध्यक्षको हैसियतमा उनले महिला हिंसा विरुद्ध र मानव अधिकार प्रवर्द्धनका मुद्दामा अग्रसर भइन्।

महागठबन्धलाई पराजित गर्दै बनिन् गाउँपालिका उपाध्यक्ष

२०७९ सालको स्थानीय चुनावमा बिन्दु रावलले बान्नीगढी जयगढ गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिँदै,नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्त गठबन्धनलाई पराजित गर्दै विजय हासिल गरिन्।

उपाध्यक्षको रुपमा उनले जनताको विश्वास जित्न सफल हुँदै विकास, सुशासन र महिला सशक्तिकरणका क्षेत्रमा कुशल नेतृत्व प्रदान गरिरहेकी छन्।

उनको नेतृत्वमा बान्नीगढी जयगढ गाउँपालिकामा धेरै महत्वपूर्ण सामाजिक र संरचनागत सुधारका प्रयासहरू भएका छन्, जसले उनलाई अझ बलियो र जनताको मन जित्ने नेतृको रूपमा स्थापित गरेको छ।

राजनीतिक यात्रा र अनुभव

२०७५ सालदेखि उनी नेकपा एमाले अछाम जिल्ला कमिटीको सदस्य र महिला विभाग प्रमुखको जिम्मेवारीमा रहेर काम गर्दै आएकी छन्।

राजनीति र समाज सेवा दुबै क्षेत्रमा लामो अनुभव आर्जन गरेकी बिन्दु रावलले महिला अधिकार र सामाजिक न्यायका विषयमा सदैव स्पष्ट र प्रखर आवाज उठाउँदै आएकी छन्।

उनले राजनीतिलाई सेवा र परिवर्तनको माध्यम मानेकी छन्। “संघर्षका अनुभव, सीप र ज्ञान अब पार्टी र जिल्लाको समग्र विकासमा समर्पित गर्ने बेला आएको छ,” यस कारण एमाले अछामको उपसचिवमा मेरो उम्मेदवारी हो ।

बिन्दु रावलको समर्पण केवल राजनीतिक सीमामा सीमित छैन। उनले अछामका महिला, दलित, वञ्चित र पिछडिएको समुदायको पक्षमा निरन्तर आवाज उठाउँदै आएकी छन्।

पाट्न क्याम्पस काठमाडौबाट सोसोलोजीमा मास्टर गरेकी रावलको पहलमा जिल्लामा थुप्रै महिला सशक्तिकरण कार्यक्रम सञ्चालन भएका छन्। सामाजिक न्याय, महिला हिंसा विरुद्धको आन्दोलन र समावेशी विकासका लागि उनले सधैं अग्रपङ्तिमा रहेर काम गरेकी छन्।

अछामजस्तो पिछडिएको जिल्लामा बिन्दु रावल जस्ता अनुभवी र समर्पित महिला नेतृको सक्रियतालाई एउटा आशाको किरणका रुपमा हेर्ने गरिन्छ ।

उनको उम्मेदवारीले एमाले अछाममा मात्र होइन, समग्र जिल्लामा महिला नेतृत्वप्रतिको विश्वास र अपेक्षालाई अझ बलियो बनाएको एमालेबृत्तमा चर्चा छ।

रावलको नेतृत्वमा अछाम जिल्लाले थप उचाइ पाउने विश्वास पार्टीभित्र र बाहिर दुवैतर्फ व्यक्त गरिएको छ।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode