Hikmat Acharya
  • ५ असोज २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

रामारोशनमा शैक्षिक रूपान्तरण अभियान शुभारम्भ : योगदान दिनेलाई सम्मान र नसक्नेको विकल्प खोजीने


अछाम । रामारोशन गाउँपालिकामा रामारोशन शैक्षिक रुपान्तरण अभियान शुभारम्भ गरिएको छ ।

गाउँपालिकाको सामुदायिक (सरकारी) बिद्यालयको शैक्षिक गुणस्तरमा रूपान्तरणकारी रुपमा सुधार ल्याउने उद्देश्य सहित अभियानको एक समारोहका बिच शुभारम्भ गरिएको हो ।

गाउँपालिका अध्यक्ष मान बहादुर साउँदको अध्यक्षतामा भएको रामारोशन शैक्षिक रुपान्तरण अभियान शुभारम्भ समारोहमा गाउँपालिकाका सम्पूर्ण विद्यालयका प्रधानाध्यापक,विद्यालय व्यवस्थापन समिति अध्यक्ष,बाल विकास सहजकर्ता लगायत सरोकारवाला सहभागी थिए ।

यो अभियान अन्तर्गत शैक्षिक गुणस्तर सुधारका लागी आवश्यक भौतिक पूर्वाधार लगायत आर्थिक सहायताका लागी गाउँपालिका सरकार जिम्मेवार हुने छ भने शैक्षिक गुणस्तर सुधारका लागी शिक्षक,प्रधानाध्यापक,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लगायतले जिम्मेवारी लिने लिखित सम्झौता सहित यो अभियान अघि बढाइने छ ।

अभियानका लागी कार्यविधि निर्माण :-

यो अभियान संचालनका गर्न कानुनी प्रावधानका लागी गएको भाद्र ६ गते सम्पन्न गाउँ कार्यपालिका बैठकले रामारोशन शैक्षिक रुपान्तरण अभियान सन्चालन कार्यबिधि २०८१  पारित गरेको थियो ।

रामारोशन शैक्षिक रूपान्तरण संचालन कार्यविधि बमोजिम प्रत्येक विद्यालयका प्रधानाध्यापक र गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समिति अध्यक्ष मान बहादुर साउँदबिच लिखित सम्झौता गरिएको छ ।

यो सम्झौता अनुसार विद्यालयका लागी आवश्यक भौतिक तथा आर्थिक सहायताको ग्यारेन्टी पालिका सरकारले र अन्य शिक्षक,अभिभावक परिचालन र विद्यालय नियमनको ग्यारेन्टी सम्बन्धित बिद्यालयको प्रधानाध्यापकले गर्नुपर्ने छ ।

सम्झौता बमोजिम अपेक्षाकृत नतिजा आए नआएकोबारे गाउँपालिका शिक्षा समिति लगायतले विशेष अनुगमन गर्ने छ । अनुगमन र नतिजाका आधारमा सम्बन्धित विद्यालयका प्रधानाध्यापकको जिम्मेवारी बहन र नतिजाको अवस्थालाई मूल्याङ्कन गरि प्रधानाध्यापक कायम गर्ने वा हेरफेर गर्ने भन्नेबारे निर्णय लिने अधिकार पालिकामा निहित गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक र शिक्षकबिच छुट्टै सम्झौता :-

शैक्षिक गुणस्तरमा रूपान्तरणकारी परिवर्तन ल्याउने अठोट अनुरूप अभियानलाई मूर्त रूप दिन विद्यालयका प्रधानाध्यापक,सम्बन्धित कक्षा तथा विषय शिक्षक र बालबिकास सहजकर्ताबिच छुट्टै सम्झौता हुने छ ।

यो सम्झौता अनुरूप न्यूनतम रुपमा प्रत्येक शिक्षकले आफ्नो कक्षा र विषयको ग्यारेन्टी लिनुपर्ने प्रावधान रहने छ । यी सम्झौताका सर्तहरूको पूर्ण रुपमा कार्यान्वयन गर्ने कार्य बाध्यकारी हुने छ ।

सम्झौताको सफल कार्यान्वयनलाई सम्बन्धित शिक्षक,प्रधानाध्यापकको सफलता र असफलतासँग जोडेर मूल्याङ्कन गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीले बताएका छन् ।

भण्डारीका अनुसार यो अभियान शुभारम्भसँगै बिगतका वर्षमा बर्ष भरि कुनै कक्षामा १ जना विद्यार्थी मात्रै उत्तीर्ण हुँदा पनि प्रश्न नउठ्ने नउठाउने प्रचलनको अन्त्य हुने छ ।

यो सम्झौता अनुसार विद्यार्थीको ज्ञानको दायरा बढाउनका लागी हरेक दिन प्रत्येक शिक्षकले आफ्नो कक्षाका विद्यार्थीलाई दैनिक रुपमा ३ वटा नयाँ कुराको ज्ञान दिनुपर्नेछ भने सिकाएका दैनिक ३ ज्ञानका कुराबारे मासिक रुपमा सम्बन्धित शिक्षकले विद्यार्थीमाझ परीक्षा समेत लिनुपर्नेछ ।

यो सम्झौतामा गाउँपालिका अध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत,शिक्षा शाखा प्रमुख,सम्बन्धित वडा अध्यक्ष र विद्यालय व्यवस्थापन समिति अध्यक्ष रोहबरमा रहने छन् ।

अभियान शुभारम्भको अवसरमा गाउँपालिका अध्यक्षको अठोट सहित शुभकामना :-

यो अभियानको समारोहबिच उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष मान बहादुर साउँदले शिक्षा क्षेत्रको सुधारका लागी सबै सरोकारवाल एकजुट सहित कठोर बन्नुपर्ने बताएका छन् ।

शिक्षा क्षेत्रमा हाम्रो पार्टी उसको पार्टी भन्दा पनि शैक्षिक गुणस्तर वृद्धिको अभियानमा सबैले अभिभावकत्व ग्रहण गर्दै शून्य सहनशीलता अपनाउनुपर्नेमा उनको जोड ।

सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तरबारे नराम्रो भाष्य स्थापित भईरहेको सन्दर्भमा यो भाष्यलाई चुनौती दिँदै गाउँपालिकाले शुभारम्भ गरेको यो अभियानलाई सफल पार्न सबै सरोकारवाला उत्तिकै जिम्मेवार हुने उल्लेख गर्दै अध्यक्ष साउँदले सफलताका लागी अठोट सहितको शुभकामना व्यक्त गरेका थिए ।


क्याटेगोरी : पालिका, शिक्षा, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode