दशैँका लागि असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने
काठमाण्डौ – दशैँका लागि सार्वजनिक गाडीको अग्रिम टिकट बुकिङ यही असोज १२ गते शनिवारदेखि खुल्ने भएको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको नेतृत्वमा बसेको आजको बैठकले अग्रिम टिकट बुकिङको मिति तय गरेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले उज्यालोलाई जानकारी दिनुभयो ।
दशैँका लागि कति वटा गाडी चलाउने भन्नेबारे यातायात व्यवसायी महासङ्घले केही दिनमा निर्णय गर्ने उहाँले बताउनुभयो ।
यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आयोजना गरेको बैठकमा घटस्थापना अगाडि नै सडकका खाल्डाखुल्डी पुरेर सुरक्षित पार्ने, चाडबाडपछि भाडा समायोजन गर्नेसहितका सहमति भई अग्रिम बुकिङ खुलाउने निर्णय भएको थियो ।
यस वर्षको दशैँ यही असोज १७ गते बिहीवारदेखि शुरू हुँदैछ । दशैँको मुख्य दिन विजयादशमी असोज २६ गते शनिवार परेको छ ।
क्याटेगोरी : राष्ट्रिय
प्रतिक्रिया