पहिरोमा पुरिएर सेनाका कर्णेलको मृत्यु
काठमाडौँ– सिन्धुपाल्चोक घुम्न गएका नेपाली सेनाका कर्णेलको मिलन केसीको सुनकोशी गाउँपालिका–४ बिमरेनी जंगलनजिकैको सिन्धु बिच रिसोर्ट माथिबाट आएको पहिरोमा पुरिएर शनिबार मृत्यु भएको छ ।
सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत केसीसँगै घुम्न गएका कोरियन नागरिक बचाउन खोज्दा उनी पुरिएका थिए।
दोलखा भिमेश्वर नगरपालिका घर भएका ३६ वर्षीय केसीको पहिरोबाट निकालेपछि केही बेरमा मृत्यु भएको हो। कोरियन नागरिक पनि सोही पहिरोमा पुरिएको भनिए पनि यकिन अवस्था थाहा भएको छैन।
सुरुमा माथिबाट सानो पहिरो झरेपछि कर्णेल केसी सुरक्षित स्थानमा गएका थिए।
तर कोरियन नागरिक सुतिरहेकाले बोलाउन गएका बेला केसीसहित कोरियन पुरिएका थिए। पुरिएको स्थानबाट उद्धार गर्दा उनी आफैं हिँड्ने भन्दै बोक्न पनि मानेका थिएनन्। आफैं हिंडेका केसीको शरीरमा चोटपटक थियो।
केही बेरमा गाह्रो भयो भन्दै ढलेको उद्धारमा खटिएका स्थानीयले बताए। केही महिनाअघि कर्णेलमा बढुवा भएका केसी सिरिया मिसनका लागि छनोट भएको जानकारी नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले बताए।
कोरियन साथी दुई जना रहेकोमा एक जना पुरिएका छन् भने एक जना सकुशल रहेका छन्। पुरिएकोको अवस्था अज्ञात रहेको छ।
इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक उमेश पाण्डेले पुरिएको नागरिक कोरियन भएको सूचना पाए पनि शव नभेटेसम्म यकिन भन्न नसक्ने बताए।
क्याटेगोरी : समाचार
प्रतिक्रिया