Hikmat Acharya
  • २ कात्तिक २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

बाजुराको खप्तड छेडेदहमा काँग्रेसकै राज : काँग्रेसकै रडाको !

कमिशन र कमाउ धन्दाकै स्वार्थमा काँग्रेस कार्यकर्ता


बाजुरा : खप्तड छेडेदह गाउँपालिकाले पारित गरेको बजेट विरुद्ध नेपाली काँग्रेसका कार्यकर्ता आन्दोलनमा उत्रिएका छन् । बजेट संसोधन र परिमार्जनको माग सहीत नेपाली काँग्रेस खप्तड छेडेदह गाउँ कार्य समितिले आन्दोलन थालेको छ । करिब ४ करोड बढी रकम अनावश्यक शिर्षकमा विनियोजन गरेको र विकासमा योजनामा बेवास्ता गरेको आरोप काँग्रेसको छ ।

यता कार्यपालिकामा काँग्रेसबाटै जितेका जनप्रतिनिधीको एकल बहुमत छ । उसोत काँग्रेसले विरोध थालेपछि आफू अनुकुल शिर्षकमा रकम विनियोजन नभएको आक्रोशमा आन्दोलन गरिएको आरोप लाग्न थालेको छ । बजेट पारित भएको तीन महिना पछि काँग्रेसले विरोध गरेको हो ।

सिंगो पालिकाले जनताको माग र समाजको आवश्यकता बेगर कार्यक्रममा बजेट विनियोजन गरेको र भौतिक पूर्वाधार विकासमा न्यून प्राथमिकता राखेकोले परिमार्जन सहीत आन्दोलन थालेको ५ नम्बर वडाका पूर्व अध्यक्ष समेत रहेका काँग्रेस नेता हर्क रावतले बताएका छन् । आन्दोलनको अगुवाई भने काँग्रेस गाउँकार्यसमिति सभापति हर्कबहादुर रावतले गरिरहेका छन् ।

बजेट संसोधनको माग सहीत ज्ञापन पत्र बुझाएपनि सुनुवाई नभएपछि विरोधका कार्यक्रम गर्नु परेको काँग्रेसले बताएको छ । पूर्व पालिका अध्यक्ष नरबहादुर रावत, काँग्रेस जिल्ला कार्यसमिति सदस्य कुम्भनाथ योगी, नेताहरु हर्क रावत, खडक बुढा, माओवादीका धनबहादुर रावत सहीतका नेताहरु आन्दोलनमा सहभागि छन् ।

काँग्रेसले अध्यक्ष उपाध्यक्षले आफ्नो नाममा अनावश्यक बजेट छुट्याएको र सस्तो लोकप्रीयता देखाउन खोजेको आरोप लगाएको छ । करिब आधा करोड बजेट अध्यक्ष उपाध्यक्षले नै आफ्नै नामको कार्यक्रम बनाएर छुट्याएकोमा काँग्रेसले आपत्ती छ । ६० लाख रकम छुट्याएर डोजर किन्ने, कर्मचारी र जनप्रतिनिधी भ्रमणकै नाममा ४० लाख बढी बजेट छुट्याउने, एउटै वडामा ३० लाखको मन्दिर निर्माणका लागि बजेट छुट्याउने कुरा संसोधन गरिनु पर्ने माग काँग्रेसको छ ।

पालिकाले भने आवश्यकताको आधारमा र जनताकै पक्षमा काम गर्न सर्वसम्मत बजेट विनियोजन गरेको बताएको छ । रातो किताब ढिलागरि प्रकाशन गरिएको, प्रकाशन पछि पनि लुकाएर राखेको र कार्यपालिका बैठकको निर्णय बेगर योजना समावेश गरिएको दाबी काँग्रेसको छ । तर डोजर लगायतका कुरा आफ्ना कार्यकर्ता काम विहिन हुने र चाहेको काम नपाउने भएपछि विरोध गरिएको काँग्रेस कार्यकर्तामाथि नै आरोप छ ।

उसोत यता प्रमुख प्रशासकीय अधिकृतले अनुकुलमा काम नगरेको आक्रोशका बीच अर्को बहाना नपाएर आन्दोलन गरिएको आरोप छ । आफै बसेर बजेट बनाउने र आफैले पारित गरेको बजेट विरुद्ध तीन महिना पछि आन्दोलन गर्नु स्वार्थ र लाभ बाहेक अर्को कुनै उदेश्य नरहेको पालिका भित्रकै कर्मचारीको दाबी छ ।

७ वटा वडा मध्ये ५ वडा अध्यक्ष र उपाध्यक्ष नेपाली काँग्रेसले जितेको छ । कार्यपालिका सदस्य पनि सिंगो काँग्रेसबाटै निर्वाचित छन् । बजेपछि सर्वसम्मत पारित गरिएको हो । तर बजेट पारितको तीन महिनापछि भने स्वयम काँग्रेसकै कार्यकर्ता आन्दोलनमा उत्रिएको देखिन्छ । उनीहरुले माग गरिएका योजना नपरेको र आफू अनुकुल गरिएको आरोप लगाएका छन् ।

गाउँपालिका अध्यक्ष र २ जना वडाअध्यक्ष नेकपा एमालेबाट प्रतिनिधीत्व गर्छन् । तीन जनाले बहुमत कार्यपालिका भित्र कुनै प्रभावी भूमिमा निर्वाचित भएदेखि खेल्न सकेको देखिदैन् । आफै निर्णय गर्ने, सहमति सहीत पारित गर्ने र अन्तिममा आन्तरिक स्वार्थ मिल्ने योजना नसमेटिएको देखेपछि विरोध गरेको आरोप काँग्रेस कार्यकर्ता माथि छ ।

यता काँग्रेसबाट जितेकी उपाध्यक्ष बिशुदेवी नाथले भने आफूलाई आन्दोलन बारे जानकारी नभएको बताएकी छन् । ज्ञापन पत्र बुझाएको विषय बारे भने जानकारी छ । त्यो बाहेक थाह छैन् । नाथले पालिकामा सहमति भएभन्दा केही योजना फरक देखिएकोले कार्यपालिका भित्रै सहमति गरिने बताइन् । कार्यपालिकाले १४ करोड ३९ लाख ९१ हजारको बजेट पारित गरेपनि २ करोड बराबरको योजना थप गरिएकोमा उपाध्याय विशुदेवी नाथको पनि विरोध छ ।

यता पालिका अध्यक्ष दिलबहादुर रावतले भने कार्यपालिका भित्र सहमति गरिएको र सर्वसम्मत निर्णय भएको कुरालाई तीन महिना पछि आएर योजना समावेश नगरिएको बेमौसमी बाजा बजाउनुको कुनै नैतिकता नहुने बताएका छन् । पालिका भित्र पार्टीगत असमझदारी र प्रमुख प्रशासकीय अधिकृत अनुकुल नभएको विषयमा लामो समय देखि विवाद हुने गरेको देखिन्छ ।

गएको माघ २९ गते प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा नन्दकृष्ण पाध्याय आइसकेपछि काँग्रेस कार्यकर्ता र जनप्रतिनिधीले बखेडा र बाहना गर्ने गरेको कर्मचारीकै दाबी छ । स्वयम अधिकृत पाध्यायले पनि आफूलाई काँग्रेसबाट जितेका जनप्रतिनिधीले बस्ने वातावरण नदिएपछि विकल्प रोज्नु परेको स्वीकार गर्ने गरेका छन् । पाध्याय सोही पालिकाका स्थानीय पनि हुन् ।

पहिलो कार्यकाल देखि नै कार्यालय र पालिका भित्रका लागि आवश्यक सबै समान कोटेशन मार्फत योजना दिने गरेको र त्यो रोक्ने वित्तिकै विरोध गरेको नन्दकृृृष्ण पाध्यायको भनाई छ । १० देखि १५ लाखसम्मका काटेशन अनुकुलका योजनामा कार्यकर्ताका लागि दिने गरिएकोमा त्यो रोकिने बित्तिकै विरोध भएको र ज्यान सुरक्षाका लागि पालिका नै छोड्नु परेको अधिकृत नन्दकृष्ण पाध्यायले बताएका छन् ।

पाध्याय असोज ८ गते पालिका छोडेर गइसकेका छन् । उनको सरुवा समेत भइसकेको छ । पालिकाबाट गइसकेकोले नबोल्ने बताएका पाध्यायले बस्ने वातावरण नै भएन्, पूर्व जनप्रतिनिधी नै तिमी आएको ठिक लागिरहेको छैन्, जतिसक्यो चाँडा जाउँ भन्ने धम्की आउने बित्तिकै दिने गरेका थिए, तर सरकारको प्रतिनिधीका रुपमा सुशासनका लागि काम गर्ने इच्छाशक्तिमा अवरोध खडा गरेको आरोप पाध्यायको छ ।

पाध्यायले पालिकामा हाजिर गरेदेखि सबै खरिदका काम टेण्डरबाटै गराएका भए, कामको मूल्यांकन बेगरका भुक्तानी सबै रोकिए, त्यही कुरामा केही पूर्व जनप्रतिनिधी र कर्मचारीलाई सह्य भएको थिएन्, त्यसै कारण यो तहको समस्या र आन्दोलनको अवस्था आएको दाबी उनको छ ।

यता काँग्रेसले आन्दोलन जारी राखेको छ । पालिका अध्यक्ष कामको शिलशिलामा काठमाडौंमा छन् । पालिकामा प्रमुख प्रशासकीय अधिकृत विहिन अवस्था छ । खप्तड छेडेदहमा मनोमानी खर्च, र कुनै पार्टी बिशेष सीमित कार्यकर्ताको हालीमुहानीका विषयमा सधैं विरोध हुने गरेको छ ।


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode