Hikmat Acharya
  • ८ कात्तिक २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

बैतडीमा किशोरी गायब गर्ने हवल्दारमाथि दोश्रो पटक म्याद थपियो


बैतडी– बैतडीको पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी साढे १७ बर्षीया किशोरी बेपत्ता पारेको आरोपमा पक्राउ परेका प्रहरी हवल्दार कृष्णराज जोशीमाथि दोश्रो पटक म्याद थपेर अनुसन्धान भइरहेको छ ।

गएको असोज २५ गते बिहानबाट बेपत्ता भएकी किशोरीको अवस्था अझै अज्ञात रहेको छ ।

किशोरी बेपत्ता गर्ने कार्यमा महाकाली प्रहरीचौकीका तत्कालिन इञ्चार्ज समेत रहेका प्रहरी हवल्दार जोशीको हात रहेको भन्दै उनीमाथि उजुरी परेको छ ।

बेपत्ता किशोरीका आफन्तले उजुरी दिएपछि उनीमाथि मानिस बेपत्ता पार्न नहुने कसुरमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए ।

असोज २५ गतेदेखि नै प्रहरीको नियन्त्रणमा रहेका हवल्दार जोशीमाथि आज जिल्ला अदालतबाट दोश्रो पटक सात दिनका लागि म्याद थपेर अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक ढुंगानाले बताए ।

बेपत्ता किशोरीसंग निलम्बित प्रहरी हवल्दार जोशीको निकटको सम्बन्ध रहेको र उनले नै बेपत्ता पारेको किशोरीका आफन्तले आरोप लगाएका छन् । किशोरी बेपत्ता भएकै दिन स्थानीयहरुले जोशीलाई दाम्लोले बाँधेर कुटपीट समेत गरेका थिए ।

प्रहरी हवल्दार जोशीको किशोरीसँग चिनजान र निकटको सम्बन्ध रहेका तस्वीरसहितको विवरण किशोरीका आफन्तले प्रहरीसमक्ष बुझाएका छन् ।

असोज २५गते बिहान प्रहरी हवलदार र किशोरीसंगको सम्बन्धका बारेमा किशोरीको परिवारलाई थाहा भएको र सोही कारणले आफू तनावमा रहेको किशोरीले हवलदार जोशीलाई बताएकी थिइन् ।

तर हवलदार जोशीले आफू विवाहित रहेको र पारिवारिक व्यवस्थापनका लागि केही दिन लाग्ने बताएपछि किशोरी पानी ल्याउन जान्छु भनेर हिँडेकी थिइन् । त्यसपछि उनी उतैबाट बेपत्ता भएकी जोशीले प्रहरी समक्ष बयान दिएका छन् ।

जोशीले किशोरीसंग निकट सम्बन्ध रहेको बिषय स्वीकारेका भएपनि बेपत्ताका बिषयमा आफू अञ्जान रहेको बताउँदै आएका छन् ।

बेपत्ता किशोरीको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम पाण्डेय नेतृत्वको टोली अहिले पनि पञ्चेश्वर क्षेत्रमा खटिरहेको छ । महाकाली नदी किनार लगायत सम्भावित स्थानहरुमा खोजी गरिएको भएपनि किशोरी फेला पर्न नसकेकी प्रहरी निरीक्षक ढुंगानाले बताए ।

किशोरी बेपत्ता भएको १२ दिन बितिसक्दा समेत उनको अवस्था अज्ञात रहेपछि स्थानीयहरु भने आक्रोशित भएका छन् । किशोरीको बिषयमा सत्यतथ्य बाहिर आउनुपर्ने र दोषीलाई कारवाही हुनुपर्ने उनीहरुको माग छ ।

यस्तै बेपत्ता किशोरीको केही महिना पहिला सीमावर्ती भारतीय क्षेत्रमा बसोबास गर्ने केटासंग विवाह गर्ने कुरा समेत चलेको थियो । उक्त क्षेत्रमा समेत खोजी गर्दा किशोरी नभेटिएकी प्रहरी निरीक्षक ढुंगानाले बताए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode