अझै भेटिइनन् बैतडीमा प्रहरी हवल्दारले बेपत्ता पारेकी किशोरी
बैतडी– बैतडीबाट बेपत्ता भएकी किशोरी अझै फेला पर्न सकेकी छैनन् । गत असोज २५ गते घरबाट सम्पर्कविहिन भएकी पञ्चेश्वर गाउँपालिका–२ की १७ वर्षीया किशोरी अहिलेसम्म फेला नपरेकी हुन् ।
डिम्बरघाटको बस्तीमै रहेको महाकाली प्रहरी चौकीका इन्चार्जसमेत रहेका प्रहरी हवल्दार कृष्ण जोशी किशोरी बेपत्ता पारेको आरोपमा पक्राउ परिसकेका छन् । उनी पुर्पक्षका लागि कारागारसमेत चलान भइसकेका छन् ।
तर, किशोरको भने कुनै अत्तोपत्तो छैन । बस्ती छेउमै महाकाली नदी बग्छ, आफन्त लगायतले नदी छेउछाउमा पनि सक्दो खोजतलास गरिसकेका छन् । तर पनि उनी भेटिएकी छैनन् ।
प्रहरीले हेल्चेक्राई गरिरहेको गुनासो
किशोरी बेपत्ता भएको महिनौं बित्दा पनि प्रहरीले कुनै खोजतलास गर्न नसकेको परिवारको गुनासो छ । छोरी हराएको ३ महिनाभन्दा बढी हुँदा पनि प्रहरीले पत्ता लगाउन नसकेको किशोरीका काका प्रेमसिंह मंगोलाले बताए ।
उनले भने, ‘छोरी हराएको ४ महिना हुन लाग्यो । तर, प्रहरीले के गरिरहेको छ रु हामीलाई कुनै जानकारी नै छैन । केही दिनसम्म खोज्ने भन्दै यहाँ आउने जाने गरेपनि अहिले भने प्रहरी आउनै छोडी सक्यो ।’
खोज्न भनेर सवारी पुग्ने रोडसम्म मात्रै आउने तर घटनास्थलसम्म नपुग्ने आरोप उनले लगाए । ‘घटना भएको केहीदिन सम्म खोजीकार्य गरे । तर पछि गाडी पुग्ने रोडसम्म मात्रै आए । त्यो भन्दा तल गाउँ तथा घटनास्थलसम्म पुगेनन् । अहिले खोजी कार्य शुन्य छ’ उनले गुनासो गरे ।
प्रहरीमाथिको आशा र भरोसा समेत मरिसकेको मंगोला बताउँछन् । किशोरी बेपत्ता पार्नुमा प्रहरी हवल्दारको नै हात रहेको दाबी परिवारको छ ।
कसरी भएको थियो घटना ?
गत असोज २५ गते बिहान बेपत्ता किशोरी पानी भर्न भन्दै घरबाट निस्केकी थिइन् । तर उनी अबेरसम्म घर फर्किनन् । बेपत्ता भएको एक दिनअघि पनि किशोरी ४ घण्टा घरबाट सम्पर्कविहीन भएकी थिइन् ।
उनी असोज २३ गते साँझ ६ बजेदेखि राति १० बजेसम्म बेपत्ता रहेकी थिइन् । छिमेकीमा खोजतलास गर्दा उनी कतै पनि भेटिइनन् । तर, राति १० बजेपछि भने उनी आफैँ घर फर्किएकी थिइन् ।
उनका बुवा रामसिंह मंगोलाले भने, ‘कता गएको यतिबेलासम्म भनेर सोधपुछ गर्दा उनले मलाई थाहा छैन । मेरो टाउको, शरिर र कम्मर दुखिरहेको छ । मालिस गरिदेउ भनिन् । आमाले उनलाई मालिस गरिदिएपछि राति हामी सबै सुत्यौँ ।’ के कति कारणले शरिर दुखाई भयो भन्ने पनि परिवारलाई नबताएको राम सिंहले बताए ।
त्यो दिन किशोरी सम्पर्कविहिन भएपछि रामसिंहले भाइ नाता पर्ने प्रेमसिंह मंगोलालाई फोन गरेका थिए । प्रेम सिंह मंगोला घाटमा सामान्य पसल व्यवसाय गर्दै आएका व्यक्ति हुन । ‘छोरी घरमा छैन । कहाँ गइन् । छिटो घर आउनु खोजी गरौं’ भन्ने दाईको आग्रहपछि प्रेम पसल बन्द गरेर घर गएका थिए ।
प्रहरी चौकी महाकाली नदी किनारबाट केही मिटर दुरीमा छ । नदीको अलिमाथि बस्ती छ । प्रहरी चौकी पनि स्थानीयकै एउटा घरमा छ ।
‘मलाई प्रहरी चौकीबाट समेत फोन आएको थियो’ त्यो दिन स्मरण गर्दै प्रेमले भने, ‘दाई र चौकीबाट एउटै समयमा फोन आयो । म पसलमा भएको बेला चौकीबाट फोन गरेर ‘‘त्यहाँ हवल्दार साप आएका छन् कि बस्नका लागि’’ भनेर सोधे । मैले छैनन् भनेर जवाफ फर्काएँ । र केही छिनपछि दाईको पनि फोन आयो छोरी हराइ भनेर ।’
त्यसपछि आफूहरु खोजतलासमा लागेको उनले बताए । ‘पछि उनी आफैँ घर आइन् । हामीले छोरीलाई मानसिक दबाब होला भनेर धेरै सोधपुछ पनि गरोनौँ’ उनले भने, ‘छोरी हराएको र हवल्दार पनि चौकीमा छैनन् भन्ने खबरले परिवारमा शंका पैदा भएको थियो,’ प्रेमले भने ।
‘हाम्रा घर पसल, र चौक नजिक नजिकै छन । सबै प्रहरी आउँछन्, बस्छन् । हामीलाई उनीरुमाथि कुनै शंका नै थिएन । तर दुवैजना हराएको समय एउटै मिलेपछि कता–कता मनमा शंका पैदा भएको थियो । फेरि त्यो दिन छोरीको घर पुगेको समय र हवल्दार पनि चौकीमा पुगेको समय एउटै मिल्यो । यसले झन मनमा शंका उब्जियो’ उनले थपे ।
त्यसको भोलिपल्ट ९असोज २४ गते० किशोरी परिवारसँगै खेतमा बालिनाली थन्क्याउनमा व्यस्त थिइन् । दिनभर कामकाज गरेर साँझ सबै सुतेका थिए । तर बिहान किशोरी घरमा नभएको जानकारी परिवारलाई भएको मंगोला बताउँछन् ।
छोरी हराइसकेपछि फेरि परिवारले चौकीमै खबर गरे । ‘छिमेकी, आफन्त इष्टमित्र सबैकोमा खोजी गरेका थियौं । तर, छोरी कतै पनि भएको खुलेन । पछि हामीले चौकीमा खबर गरेका थियौं ।
शंका लागेर हवल्दारलाई नै दवाब दिन थाल्यौँ’ प्रेमले भने, ‘किशोरी हरायो भन्दै जानकारी गरेपछि चौकीमा पनि उथलपुथल माच्चियो । त्यसपछि हवल्दार एक्लै किशोरी खोज्न भनेर हिँडे । तर, हवल्दार त भागेका रहेछन् ।’
२५ गते हवल्दार पनि चौकीबाट गायब भएको खबर फैलिएपछि उनको खोजी भयो । ‘सोधीखोजी गर्दा उनी तल्लो घाटबाट तरेको जानकारी आयो । त्यसपछि हामी उनै हवल्दारले छोरी गायब गरेकोमा विश्वस्त भयौं’ उनले भने ।
हवल्दार चौकी भगाउनमा दुईजना सहयक हवल्दार र प्रहरी जवानले मद्दत गरेको आरोप समेत परिवारको छ । हवल्दार भागेपछि दुवै जनाले उनको झोला लगायतको सामान सिमेन्टको थैलोमा हालेर आधीबाटो पुर्याएको आरोप परिवारको छ ।
प्रेमले भने, ‘छोरी खोज्न भनेर हिँडेका हवल्दार नै गायब भए । पछि हामीले भारतमा समेत फोन गर्यौ । उनको हुलिया दियौं । भारतीय एसएसबीको सहयोग र त्यहाँका स्थानीयको सहयोगमा हामीले हवल्दारलाई समात्न्न सफल भयौँ ।’
हवल्दारको मोबाइलमा शंकास्पद फोटो
हवल्दारलाई समातिसकेपछि प्रेमले झटपट उनको मोबाइल खोसेका थिए । ‘मोबाइलमा केही प्रमाण भेटिन्छ कि भनेर खोसे ।
मोबइलबाट थाहा भयो कि दुवैजनाको प्रेम सम्बन्ध रहेछ । हवल्दारको फोनमा किशोरीसँगका अश्लिल तस्बीर फेला परेपछि परिवारको शंका थप बलियो भयो’ उनले भने ।
प्रहरी हवल्दार कृष्णराज जोशीलाई निलम्बन गरी हिरासतमा राखेर अनुसन्धान गर्दा दुवैबीच प्रेम सम्बन्ध रहेको खुलेको थियो । हवल्दारको फोनमा किशोरीसँग चुम्बन गरेका, अंगालो हालेका लगायतका फोटो भिडियोहरु रहेको पाइएको थियो ।
तर, आरोपित जोशीले असोज २५ गते बिहान किशोरीसँग भेट भएकोसमेत स्वीकार गरेपनि त्यसपछिको अवस्थाबारे आफूलाई थाहा नभएको बताउँदै बयान दिएका थिए ।
तर किशोरीका आफन्तले भने किशोरी बेपत्तामा जोशीकै हात रहेको आरोप लगाउँदै आएका छन् । २५ गते बिहान किशोरी प्रहरी हवल्दार जोशीलाई नै भेट्न गएकी थिइन् ।
हवल्दार सुतिरहेकै समयमा कोठामा गएर उनले घरमा आफूहरुको बारेमा जानकारी भएको र तनाव भएको बताएकी थिइन् । प्रहरी हवल्दार जोशीले आफु विवाहित भएको र पारिवारिक व्यवस्थापनका लागि केही दिन लाग्ने बताएपछि किशोरी पानी भर्न जान्छु भनेर हिँडेको र उतैबाट बेपत्ता भएको जोशीले प्रहरीसमक्ष बयान दिएका थिए ।
बेपत्ता किशोरीबारे के भन्छ प्रहरी ?
बेपत्ता किशोरीको खोजी कार्य जारी नै रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । विभिन्न ठाउँमा खोजी गरेपनि कहिँकतैबाट पत्ता नलागेको उनले बताए ।
उनले भने, ‘सबै ठाउँमा खोजी गरिसकेका छौँ । कहिँ पत्ता लाग्न सकेको छैन । हाम्रो खोजी कार्य अझैपनि जारी छ । सँगै हाम्रो अनुसन्धान पनि जारी नै छ ।’
घटनापछि सारियो प्रहरी चौकी
सो घटनापछि त्यहाँको प्रहरी चौकीलाई पनि सारिएको छ । किशोरी खोज्दा नभेटिएको तथा प्रहरीबाट महिला तथा किशोरीहरु नै असुरक्षित भएको भन्दै डिम्बर बस्तीका स्थानीय र जनप्रतिनिधिहरुले चौकी सार्न माग गरेका थिए । त्यसपछि महाकाली चौकीलाई कुलाउँमा स्थानान्तरण गरिएको थियो ।
किशोरी बपत्ता भएको घटनापछि चौकीका सबै प्रहरीलाई पनि जिल्ला तानिएको थियो । त्यहाँ अहिले नयाँ टिम पठाइएको छ ।
तर जिल्ला प्रहरी कार्यालय बैतडीले भने सबै क्षेत्रबाट पायक पर्ने ठाउँमा चौकी नहुँदा कुलाउँमा स्थानान्तरण गरिएको जनाएको छ । स्थानीयकै घरमा भाडा तिरेर बसेको र भवन पनि जीर्ण हुँदा कुलाउँमा चौकी स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब निरीक्षक मुकुन्द कुमार मिश्रले बताए ।
उनले भने, ‘प्रहरी चौकी भएको ठाउँमा दैनिक सञ्चारले काम गर्दैन । धेरै पुरानो भवन छ , त्यो पनि जीर्ण छ । जनशक्ति थप्न ठाउँ पनि छैन । विभिन्नि कारणले त्यहाँ बस्न समस्या हुँदा अर्को व्यवस्थापन नहुँदासम्मका लागि कुलाउँमा स्थानान्तरण गरिएको हो ।’
महाकाली चौकी नउठेको तर केही समयका लागि कुलाउँमा स्थानान्तरण गरिएको उनको भनाइ छ । डिम्बरघाटमा २०६३ पुस २५ मा महाकाली प्रहरी चौकी स्थापित भएको थियो ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया