अछाममा फुपु–भदै मृत्युु प्रकरण : प्रदेश प्रहरी कार्यालय धनगढीबाट प्रहरी टोली अछाम जाँदै
धनगढी– अछाममा दुई किशोरी मृत फेला परेको घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयको टोली समेत परिचालन गरिएको छ ।
प्रदेश प्रहरी कार्यालयले ढकारी गाउँपालिका–१ को छिन्ने जंगलमा ढकारी–८ पल्साताकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का मृत भेटिएको घटनाको अनुसन्धानका लागि टोली परिचालन गरेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश चन्दले जिल्ला प्रहरी कार्यालयले गरिरहेको अनुसन्धानलाई सघाउन प्रदेशबाट छुट्टै टोली परिचालन गरिएको बताए ।
“जिल्ला प्रहरी कार्यालयले दुई जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिररहेको छ तर अहिलेसम्म धेरै कुरा खुलेको छैन्,” उनले भने, “अनुसन्धानलाई सघाउन प्रदेशबाट टोली परिचालन गर्दैछौं । दिउँसोसम्म अछाम पुग्छ ।”
शनिबार बाख्रा चराउन गएका दुवै किशोरी बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा दुवै जना आइतबार मृत अवस्थामा फेला परेका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) ईश्वरी भण्डारीकाअनुसार घटनाको अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको छ ।
उनीहरूमाथि अनुसन्धान जारी रहेको बताइएको छ ।
सोधपुछका लागि समेत प्रहरीले केहीलाई नियन्त्रणमा लिएको थियो । उनीहरूलाई सोधपुछपछि छाडिएको प्रहरीले जनाएको छ ।
डीएसपी भण्डारीले घटना हत्या वा भवितव्य के हो ? अहिले नै भन्न सकिने अवस्था नरहेको बताए । भण्डारीले अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) सँग पनि सहयोग लिइरहेको बताए ।
भेरी प्रादेशिक अस्पतालमा मृतक किशोरीहरूको शव परीक्षण गरिएको छ तर रिपोर्ट आउन बाँकी छ । उनीहरू शव मंगलबार अछाम ल्याइने प्रहरीले जनाएको छ ।
प्रहरीले तालिमप्राप्त कुकुरको प्रयोग गरेर पनि अनुसन्धान गरेको थियो । मृतकका आफन्तले घटना शंकास्पद रहेकाले गहिरो अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया