Hikmat Acharya
  • २८ फागुन २०८१, बुधबार
  • काठमाडौं
Paschim Raibar

अछाममा जनयुद्ध दिवसमा माओवादी नेताहरूको गर्जन : सहिद परिवार सम्मानित


अछाम । ३०औं जनयुद्ध दिवसको अवसरमा अछामको मुजाबगरमा नेकपा (माओवादी केन्द्र) र नेकपा (विप्लव) रामारोशन गाउँपालिका कमिटीको आयोजनामा विशाल जनसभा तथा बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम नेकपा (माओवादी केन्द्र) रामारोशन गाउँपालिका कमिटीका अध्यक्ष खकेन्द्र साउदको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेकपा (माओवादी केन्द्र) तथा नेकपाका नेताहरूले सम्बोधन गरेका थिए भने विविध सांस्कृतिक कार्यक्रम र सहिद परिवार सम्मान कार्यक्रम पनि गरिएको थियो।

कार्यक्रमका प्रमुख वक्ता नेकपाका स्थायी कमिटी सदस्य भरत सीले जनयुद्ध दिवस क्रान्ति र परिवर्तन चाहनेहरूको लागि आस्थाको केन्द्र रहेको बताउनुभयो। उहाँले आजको राज्यव्यवस्था जनयुद्धकै उपलब्धि भएको भन्दै गणतन्त्र, संघीयता, समावेशी तथा समानुपातिक व्यवस्था कार्यान्वयनमा ल्याउन माओवादीकै भूमिका रहेको उल्लेख गर्नुभयो।

यस्तै, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा अछाम इञ्चार्ज शरदसिं भण्डारीले जनताले अन्याय र अत्याचारविरुद्ध लडेको जनयुद्ध महान भएको बताउनुभयो। उहाँले माओवादीले मात्र देशको समृद्धि दिनसक्ने दाबी गर्दै अब माओवादी घटकहरू एकजुट भएर समाजवादी क्रान्तिका लागि अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

पूर्व माओवादी नेता रामबहादुर थापालाई लक्षित गर्दै भण्डारीले थापा सूर्य मुनीको हुस्सु भएको र उनी जेल जानुपर्ने व्यक्ति भएको टिप्पणी गर्नुभयो।

जनसभालाई नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री झपट साउद, केन्द्रीय सदस्य दीपक साउद, नेकपाका केन्द्रीय सदस्य तथा अछाम इञ्चार्ज मिना सी, माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य लोक बहादुर बोहरा (ज्वाला), प्रदेश कमिटी सदस्य तथा रामारोशन गाउँपालिकाका प्रथम उपाध्यक्ष सरस्वती रावल, रामारोशन गाउँपालिका–२ का वडाध्यक्ष मीन बहादुर परियार लगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो।

वक्ताहरूले माओवादी धार कमजोर हुँदा जनयुद्ध विरोधीहरू सक्रिय हुँदै गएकाले जनयुद्धका उपलब्धिहरूको रक्षा गर्दै समाजवादी क्रान्तिका लागि माओवादी घटकहरू एकजुट हुनुपर्ने धारणा राखेका थिए।

सहिद परिवार सम्मान

कार्यक्रमका अवसरमा जनयुद्धको अवधिमा सहिद भएका रामारोशन गाउँपालिकाका विभिन्न वडाका सहिद परिवारलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेकपा अछामका सचिव निरक सीले स्वागत मन्तव्य दिनुभएको थियो भने सञ्चालन दल बहादुर साउदले गर्नुभएको थियो ।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode