डि.एस.पी. भण्डारीद्वारा विद्यार्थीलाई दुर्व्यसन तथा आत्महत्या रोकथामबारे प्रशिक्षण

अछाम – वान्नीगढी जयगढ गाउँपालिका–६ माझेठानामा रहेको विन्ध्यावासिनी माविमा लागूपदार्थ दुर्व्यसन तथा आत्महत्या निरुत्साहन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। सामाजिक विकास कार्यालय अछामको आयोजनामा बाल अधिकार संरक्षण कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई सचेत पार्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेक बहादुर साउँदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक (डिएसपी ) ईश्वरी प्रसाद भण्डारी प्रमुख अतिथिको रुपमा उपस्थित रहनुभएको थियो। प्रमुख अतिथि भण्डारीले विद्यार्थीहरुलाई लागूपदार्थ दुर्व्यसन तथा आत्महत्या निरुत्साहन सम्बन्धी महत्वपूर्ण प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रममा सामाजिक विकास कार्यालय अछामका प्रमुख डम्बर बहादुर रावल विशिष्ट अतिथिका रुपमा रहनुभएको थियो। उहाँले बालबालिकाहरुलाई यस्ता खालका कार्यक्रमहरु अत्यन्त जरुरी रहेको बताउँदै सामाजिक विकास कार्यालयले हालसम्म ८ वटा यस्तै कार्यक्रमहरु सञ्चालन गरिसकेको जानकारी दिनुभयो।
सचेतना कार्यक्रममा जिल्ला प्रशासन कार्यालय अछामका नासु उमेश सिंह विष्ट, विद्यालयका प्रधानाध्यापक नृप बहादुर रावत लगायत शिक्षासँग सम्बन्धित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
विद्यालयका १०० जना विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा शिक्षक शमशेर बहादुर सिंहले सञ्चालन गर्नुभएको थियो। कार्यक्रमले विद्यार्थीहरुलाई लागूपदार्थ तथा आत्महत्या जस्तो गम्भीर समस्याबाट बच्न सचेत बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।
क्याटेगोरी : अपराध, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया