Hikmat Acharya
  • २८ फागुन २०८१, बुधबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढीका विद्यालयहरू रित्तिदै : ३ बर्षमै ६ सय बढी बिद्यार्थी घटे


अछाम-अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकामा आधारभूत तह (बाल विकासदेखि कक्षा ५ सम्म) का विद्यार्थी संख्या निरन्तर घट्दै गएको छ। पछिल्ला तीन शैक्षिक सत्रको तुलनामा यो तहमा भर्ना हुने विद्यार्थीको संख्या ६ सयभन्दा बढीले घटेको छ। यसले स्थानीय शिक्षा व्यवस्थामा गम्भीर चुनौती उत्पन्न गरेको छ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख बसन्त जाेशीका अनुसार शैक्षिक सत्र २०७९ मा बाल विकासदेखि कक्षा ५ सम्म २,३०१ जना विद्यार्थी भर्ना भएका थिए। तर चालु शैक्षिक सत्रमा यो संख्या घटेर १,७२७ मा पुगेको छ। २०८० सालमा २,००९ विद्यार्थी भर्ना भएका थिए, तर यो वर्ष त्यो संख्या १,७२७ मा सीमित भएको छ। गाउँपालिकाका ६ वडामा रहेका २१ सामुदायिक र २ संस्थागत विद्यालयहरूले यो गिरावटलाई गम्भीर चुनौतीको रूपमा लिएका छन्।

बसाइँसराइ र रोजगारीको प्रभाव

अछाम जिल्ला सुदूरपश्चिम प्रदेशमा उच्च बसाइँसराइ दर भएको जिल्ला हो। यहाँका नागरिक मुख्यतः कैलाली, कञ्चनपुर लगायत तराईका जिल्लामा बसाइँसराइ गर्छन्। बसाइँसराइसँगै विद्यालय उमेर समूहका बालबालिका पनि अन्यत्र जाने गरेकाले विद्यार्थी संख्या घटेको स्थानीय शिक्षाविद्हरू बताउँछन्।

बान्नीगढी जयगढ गाउँपालिका अछाम जिल्लामा दोस्रो बढी बसाइँसराइ हुने स्थानीय तह हो। आमाबुवा रोजगारीका लागि बाहिर जाँदा बालबालिकालाई पनि संगै लैजाने गरेकाले विद्यालयमा विद्यार्थी संख्या घट्ने क्रम जारी छ।

महिलाहरूको विदेश पलायनले थप असर

यस क्षेत्रमा पहिले पुरुषहरू मात्र रोजगारीका लागि विदेश जाने गर्थे। तर पछिल्लो समयमा महिलाहरू पनि पुरुषहरूसँगै विदेश जाने प्रवृत्ति बढेको छ। खासगरी भारतमा महिलाहरू समेत रोजगारीका लागि जाने भएपछि घर सम्हाल्दै आएका आमाहरू पनि बाहिरिन थालेका छन्। यसले गर्दा बालबालिकाहरू पनि अभिभावकसँगै विदेश जान बाध्य भएका छन्।

विद्यालय स्रोतका अनुसार दुई वर्षअघि भर्ना भएका केही विद्यार्थी कक्षा बीचमै छोडेर गएका छन् भने कतिपय नयाँ शैक्षिक सत्रमा भर्ना नभइ आफ्ना अभिभावकसँगै विदेशिएका छन्।

शिक्षा क्षेत्रमा परेको यस प्रभावलाई कम गर्न विशेष योजना र सचेतनात्मक कार्यक्रमहरू आवश्यक छन्। स्थानीय तह, विद्यालय, अभिभावक, र नीति निर्माताबीच सहकार्य बढाउनु आवश्यक छ। यसबाट विद्यार्थी संख्या पुनः वृद्धि गर्न सकिने सरोकारवालाहरूको विश्वास छ।

बान्नीगढी जयगढ गाउँपालिकामा विद्यार्थी संख्या घट्नु केवल शैक्षिक समस्या मात्र नभई सामाजिक र आर्थिक चुनौती पनि हो। यसलाई सम्बोधन गर्न स्थानीय, प्रादेशिक र राष्ट्रिय स्तरमा समन्वित प्रयास गर्न आवश्यक छ।


क्याटेगोरी : पश्चिम खोज, शिक्षा, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode