गाउँको माटोमा मन, शिक्षामा समर्पण: अमेरिकाबाट अक्षयकोष स्थापना गर्ने ठकुल्ला सम्मानित

अछाम । बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४, तिमिल्सैनमा अवस्थित अलकनन्दा माध्यमिक विद्यालयमा स्थापना गरिएको साइदिप हिराकल अक्षयकोषका स्थापनाकार हेम बहादुर ठकुल्लालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरिएको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा वडा नम्बर ४ का वडा अध्यक्ष किरण बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेम बहादुर ठकुल्लाको अतुलनीय योगदानको कदर गर्दै विद्यालय परिवारले स्वागतसहित सम्मान गरेको हो।
तिमिल्सैन स्थायी घर भई हाल अमेरिकामा रहनुभएका ठकुल्लाले आफ्ना हजुरबुवा, बुवा र आमाको संयुक्त नाममा २०७७ सालमा अक्षयकोषको स्थापना गरेका थिए। सो अक्षयकोषबाट प्राप्त आम्दानीबाट विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत उत्कृष्ट, विपन्न र जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ।
हेम बहादुर ठकुल्लाले आफूले बाल्यकालमा अध्ययन गर्दा झेलेका आर्थिक अभाव र तिनै समय पाएको राहत तथा सहयोगबाट उत्पन्न भएको आत्मिक अनुभूतिलाई स्मरण गर्दै, त्यही प्रेरणाले विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरूको शैक्षिक विकासमा सघाउ पुगोस् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरेको जानकारी दिएका छन्।
कार्यक्रममा उनले आगामी दिनमा अक्षयकोषलाई क्रमशः बृद्धि गर्दै ५ लाख रुपैयाँसम्म पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरे।
सम्मान कार्यक्रममा उपस्थित हेम बहादुर ठकुल्लाका दाजु तथा तत्कालिन तिमिल्सैन गाउँ पञ्चायतका सचिव गगन सिँह ठकुल्लाले सामाजिक पराेपकार कार्यमा सवैकाे ध्यान जानुपर्नेमा जाेड दिएका छन् । यस क्षेत्रका शिक्षा क्षेत्रका अगुवा आफ्ना पुर्खा साइमल ठकुल्लाले शिक्षा क्षेत्रमा खेलेकाे याेगदानबारे उनले जानकारी समेत गराएका थिए ।
वडा अध्यक्ष किरण बहादुर खत्रीले समुद्रपारि अमेरिका बसोबास गर्दै आए पनि आफ्नो जन्मथलो र समुदायका लागि शिक्षा जस्तो महत्वपूर्ण क्षेत्रमा योगदान पुर्याएकोमा ठकुल्लाप्रति आभार प्रकट गरे।
कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष नेत्र बहादुर साउँद , पूर्व तिमिल्सैन गाउँपञ्चायत सचिव गगन सिंह ठकुल्ला, समाजसेवी ,अगुवा तथा बिद्यालयका पूर्व व्यवस्थापन समिति अध्यक्ष रंग सिंह ठकुल्ला लगायत स्थानियको उल्लेखनीय उपस्थिति रहेको थियो।
शिक्षा क्षेत्रमा यस्ता प्रेरणादायी कदमहरूले आगामी पुस्तालाई पनि सामुदायिक सेवातर्फ उन्मुख गराउने आशा व्यक्त गरिएको छ।

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा
प्रतिक्रिया