बज्रगुरु बेपत्ता, सडक अधुरो: जयगढ–रामारोशन कालोपत्रे योजना अन्योलमा

अछाम – सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रामारोशन क्षेत्र जोड्ने जयगढ–रामरोशन सडकखण्डको कालोपत्रे योजना दुई वर्षदेखि ठप्प छ। निर्माण कार्य ठप्प हुँदा स्थानीयबासी र पर्यटक दुबैले सास्ती भोग्न बाध्य भएका छन्।
बान्नीगढी जयगढ गाउँपालिका अन्तर्गत पर्ने जयगढ बजारदेखि दर्नासम्मको करिब १२.५ किलोमिटर सडक कालोपत्रे गर्न पूर्वाधार विकास कार्यालय अछामले २०७६ साल कार्तिक १९ गते बज्रगुरु कन्ट्रक्सनसँग २४ करोड ७७ लाख ९० हजार ३६९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। सम्झौता अनुसार काम २०७९ असार १७ भित्र सम्पन्न भइसक्नु पर्ने थियो। तर, पटक–पटक म्याद थपिँदा पनि अहिलेसम्म कालोपत्रे सुरु भएको छैन।
पूर्वाधार विकास कार्यालयका अनुसार हालसम्म योजना अन्तर्गत ८० प्रतिशत भौतिक कार्य सम्पन्न भइसकेको र सोही अनुसारको भुक्तानी पनि सम्पन्न भइसकेको छ। तर, मुख्य कार्य—कालोपत्रे नै सुरु नभएकाले आयोजना अधुरो बनेको हो।
कार्यालय प्रमुख जंग थापा भन्छन्, “कम्पनीलाई पटक–पटक ताकेता गरिएको भए पनि कुनै सुनुवाइ भएको छैन। अब आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।”
निर्माण कम्पनी सम्पर्कविहीन
योजनाको ठेक्का लिएको बज्रगुरु कन्ट्रक्सन हाल सम्पर्कविहीन छ। प्रमुख प्रतिनिधिहरूको फोन नउठ्ने, सम्पर्क गर्न नसकिने गुनासो स्थानीय तह र कार्यालय दुवैको रहेको छ।
आाम नागरिक समाज र समुदायका तर्फबाट उचित साथ सहयोग पाउदा समेत बज्रगुरु कन्ट्रक्सनले काममा गरेको ढिलासुस्तिका कारण सास्ति भोग्नु पर्दा स्थानीय आक्रोशित बनेका छन् ।
निर्माण कम्पनिले जिम्मा पाएको सडक खण्डमा आम नागरिकले दिएको साथ समर्थन र सहज बाताबरणको मुल्याँकन गर्नुको साटो निर्माण कम्पनिले निर्माण कार्य ढिलाई गरेर स्थानीयको साथ सहयोगको अवमुल्याँकन गरेको वडा नम्बर ५ का वडा अध्यक्ष टंक साउँदले बताएका छन् ।
मिलेको भुगोल र सहज बाताबरणमा समेत सडक कालोपत्रे कार्य ढिलाइ गरेर बज्रगुरु कन्ट्रक्सनले आफ्नो अकर्मण्यता उदाँगो पारेको स्थानीय केशर साउँदको भनाई छ ।
स्रोतका अनुसार कम्पनीले अन्य निर्माण कम्पनीहरूसँग ज्वाइंट भेन्चरमा मिलेर योजना सञ्चालन गर्दा आर्थिक लेनदेनमा समस्या देखिएको छ। पार्टनर कम्पनीहरूले चेक बाउन्सजस्ता आर्थिक अनियमितता गरेपछि बज्रगुरु पनि समस्यामा परेको जनाइएको छ।
यता, अछाम कम्पनिको अछमम साइडमा कार्यरत कर्मचारीहरुले भने ढिलाइ हुनुमा कार्यालयको समेत दोष रहेको दावी गरेका छन् । कम्पनिले काम गर्नलाइ जनशक्ति लगायत आवश्यक तयारी गरेका बेला भुक्तानी दिईएन दिए पनि ढिलाइ भयो उनीहरुले भने हाल कम्पनिको आन्तरिक तयारीका कारण काम प्रभावित भएको हो। बाँकी रहेको काम सुरु भएको बढीमा दुई महिना भित्र सम्पन्न गरिसक्ने कम्पनिको दावी छ ।
पर्यटन प्रवर्द्धनमा असर, स्थानीय आक्रोशित
सडक निर्माणमा ढिलाइ हुँदा रामारोशन क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत प्रतिकूल असर परेको छ। सडकका विभिन्न स्थानमा गरिएको नयाँ कटिङ, वर्षाले चिरा परेको भाग र अत्यधिक धुलोका कारण यहाँ पुग्ने पर्यटकहरूलाई गम्भीर असुविधा भइरहेको छ।
स्थानीयवासीले निर्माण कम्पनीमाथि चर्को आक्रोश पोखेका छन्। “घर टहरा भत्काएर बाटो खनियो, तर अहिले न कालोपत्रे छ, न सुविधा। हामी दिनहुँ धुलो र हिलोमा बस्न बाध्य छौं,” स्थानीय कमल तिमिल्सैनाले भने।
निर्माणका क्रममा जयगढदेखि माझेठानासम्म २५ बढी घर तथा टहरा भत्काउनु पर्नेमा केही भत्काईएका छन् भने अझै केही स्थानमा संरचना हटाउन बाँकी रहेको जनाइएको छ।
झूटा प्रतिबद्धता र अलपत्र योजना
बज्रगुरु कन्ट्रक्सनका बोर्ड डाइरेक्टर रेवन्त बस्नेतले २०७९ जेठसम्म सबै कार्य सम्पन्न हुने दाबी गरेका थिए। तर, त्यो दाबी झूटो सावित भईसको छ । उनले दावी गरेको ३ बर्ष बितिसक्दा समेत काम पूरा नहुनु आफैमा लज्जास्पद हो ।
योजना अधुरो रहँदा विकास निर्माणमा ढिलाइ मात्र नभई स्थानीय जनजीवन, यातायात, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा समेत असर पुगेको स्थानीयको गुनासो छ।

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : पश्चिम खोज, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया