Hikmat Acharya
  • ७ वैशाख २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

जयगढ आगलागी : नेताहरू आए,फर्किए; राहत आएन


अछाम — बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्रसमेत रहेको ऐतिहासिक जयगढ बजार चैत २६ गते साँझ करिब ७ बजे आगलागीमा परेर पूर्णरूपमा ध्वस्त भयो। जयगढमा रहेको आइएमई केन्द्रबाट सुरु भएको आगोले केही मिनेटमै विकराल रूप लिँदै बजारका २५ वटा घर र ती घरभित्र सञ्चालित ३५ वटा पसलहरू जलेर नष्ट गर्‍यो।

गाउँपालिका अध्यक्ष टेकबहादुर साउदका अनुसार भौतिक संरचना बाहेक करिब ८ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। घटनापछि धेरै पीडित विस्थापित छन्। धेरैको उठिबास लागेको छ।

निर्मला रावल जयगढ बजारको सबैभन्दा पुरानो पक्की घरकी बासिन्दा हुन्। आगो फैलँदै जाँदा उनले आफ्नो घर डोजर लगाएर भत्काइन् ताकि आगो अरू तिर नफैलियोस्। अहिले उनी आफन्तको कोठामा बस्दै आएकी छन्।

“मेरो घर जलेर खरानी भयो। तर अरूका घर बचाउन डोजर लगाएर भत्काउन दिएँ,” निर्मलाले भनिन्, “त्यति नगरेको भए सायद जयगढको नामनिशान नै मेटिने थियो।”

१० वर्षअघि श्रीमान्को मृत्यु भएको र गाउँपालिकामा कार्यालय सहयोगीको जागिर गर्दै छोराछोरी पढाइरहेकी निर्मलाका लागि अहिले बस्न पनि गाह्रो छ। “गाउँपालिकाले दिएको एउटा ब्ल्याङ्केट, २५ किलो चामल, तेल र बाल्टीन बाहेक केही पाएकी छैन,” उनले भनिन्, ।

जयगढका व्यापारी खगेन्द्र साउदको घर, गोदाम र पसल सबै जलेर नष्ट भयो। उनको परिवार अहिले गाउँपालिकाले उपलब्ध गराएको स्वास्थ्य चौकीको एउटा कोठामा आश्रित छ।

“ग्यास चुलो, तेल, चामल र ब्ल्याङ्केट बाहेक केही पाएको छैन,” साउदले भने, “सुरुमा धेरै आए। अहिले कसैले पनि वास्ता गर्दैन। राहत आउने हो कि भन्ने आशा हराउँदैछ।”

स्थानीय तह र प्रहरीद्वारा संकलन गरिएको विवरणअनुसार साउदको मात्रै १ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

मन्त्री आए, हेरेर फर्किए

घटनालगत्तै सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्का, कानुनमन्त्री हिरा सार्की, र भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुरेन्द्रपाल जयगढ पुगेर स्थलगत अनुगमन गरे।

तर पीडितहरूका अनुसार अनुगमनपछिको अवस्था राहतविहीन नै छ। “नेताहरू आश्वासन दिन मात्रै आएका थिए, अहिलेसम्म कुनै ठोस राहत देखिएको छैन,” एक पीडितले भने।

सुदूरपश्चिम प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले बान्नीगढी जयगढ गाउँपालिकालाई ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरे पनि त्यो रकम अहिलेसम्म गाउँपालिकामा आएको छैन।

गाउँपालिका अध्यक्ष साउदले भने, “विभिन्न संघ–संस्थाबाट हालसम्म करिब ४ लाख नगद सहयोग मात्र प्राप्त भएको छ। प्रदेश सरकारले दिने भनिएको रकम आएको छैन। केन्द्र सरकारले त हालसम्म कुनै चासो नै दिएको छैन।”

गाउँपालिकाले तत्कालका लागि पीडितलाई खाद्यान्न उपलब्ध गराइसकेको र अस्थायी टहरा बनाउने योजना बनाएको बताएको छ। दीर्घकालीन पुनर्निर्माणको लागि भने अझै कुनै ठोस निर्णय भएको छैन।


क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode