Hikmat Acharya
  • १३ वैशाख २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

एमाले अछामको नेतृत्व चयनको दौड तीव्र : भीम रावलको सशक्त दावी


अछाम । लामो प्रतीक्षापछि नेकपा (एमाले) अछामको ९औं जिल्ला अधिवेशन अन्ततः भोलि अर्थात् वैशाख १३ गतेदेखि १५ गतेसम्म सदरमुकाम मंगलसेनमा हुँदैछ। सुदूरपश्चिम प्रदेशका अन्य आठ जिल्लामा अधिवेशन सम्पन्न भइसके पनि अछाममा अधिवेशन ढिलो हुन लागेको हो।

अधिवेशनको उद्घाटन एमाले सुदूरपश्चिम इञ्चार्ज तथा केन्द्रीय सचिव लेखराज भट्टले गर्नेछन्। उनी आज (शुक्रबार) नै अछाम आइपुग्ने कार्यक्रम रहेको छ।

अधिवेशन सुरु नहुँदै नेतृत्व चयनको बहस चुलिएको छ, विशेषगरी जिल्ला अध्यक्ष पदका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। हालसम्म सात जना आकांक्षीको नाम सार्वजनिक चर्चामा आएको छ भने थप आकांक्षी देखापर्ने सम्भावना पनि उत्तिकै रहेको छ।

भीम रावल ‘कालोटोपी’: प्रमुख दावेदारका रूपमा अघि

जिल्ला अध्यक्ष पदका लागि चर्चित नाममध्ये एक हुन् हालका जिल्ला सचिव भीम रावल ‘कालोटोपी’। विद्यार्थी राजनीतिबाट उदाएका रावल युवामाझ लोकप्रियता बढाउँदै आएका छन्। सबै पक्षलाई समेटेर लैजान सक्ने नेतृत्व क्षमताका कारण उनले आफूलाई सशक्त उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन्।

“पार्टीमा युवा पुस्ताको नेतृत्व स्थापित गर्न, आन्तरिक एकतालाई मजबुत बनाउन र रोजगारी तथा उद्यमशीलताको अवसर सिर्जना गर्न आवश्यक छ,” रावलले बताए। पार्टीलाई एकतावद्ध बनाएर अघि बढाउने संकल्पसाथ उनले अध्यक्ष पदमा उम्मेदवारी दिएको जनाएका छन्।

उनको दाबी अनुसार जिल्लाका विभिन्न वडाबाट आएका प्रतिनिधिहरूले पनि आफूलाई नेतृत्वमा देख्न चाहेका छन्। “सर्वसहमतिका प्रयास भइरहेका छन्। सर्वसहमति भए पनि मेरो नाममा नै नेतृत्व चयन हुनेमा विश्वस्त छु,” उनले भने।

नेतृत्वका अन्य आकांक्षी

रावलसँगै अन्य प्रमुख अध्यक्ष पदका आकांक्षीहरूमा हालका अध्यक्ष चन्द्रबहादुर बोहरा, डिबी साउद, शिवप्रसाद उपाध्याय, बमबहादुर विसी, तिलक कुँवर र  हिरेण्ड भट्टराई छन्। सबै आकांक्षीहरू आ–आफ्नो पहुँच र प्रभावका आधारमा लबिङमा सक्रिय छन्।

राजनीतिक पृष्ठभूमि र अनुभव

वि.सं. २०५२/५३ मा विद्यार्थी आन्दोलनमार्फत संगठित राजनीतिमा प्रवेश गरेका रावलले पार्टीको हरेक तहमा नेतृत्व क्षमता प्रदर्शन गरेका छन्। काठमाडौंस्थित कर्मश क्याम्पसबाट अनेरास्ववियुमा प्रारम्भिक सदस्य हुँदै अध्यक्ष बनेका उनले बागमती प्रदेश र केन्द्रीय तहसम्म संगठनको नेतृत्व गरेका छन्।

अनेरास्ववियुमा लामो समय योगदान दिएका रावल २२औं राष्ट्रिय महाधिवेशनमा सचिव पदमा पराजित भएपछि विद्यार्थी राजनीतिबाट बिदा लिएर पार्टीको मूलधार राजनीतिमा सक्रिय भएका हुन्। जिल्ला सचिवको रूपमा कार्यरत रावलले व्यवस्थापन संकायबाट स्नातकोत्तरसम्मको अध्ययन गरेका छन्।

उनी हाल जिल्ला, प्रदेश र केन्द्रका नेताहरूसँगको सम्बन्ध सुदृढ गर्दै समावेशी नेतृत्व शैलीमार्फत पार्टीलाई एकतावद्ध बनाउने उद्देश्यसहित अघि बढिरहेका छन्।

अध्यक्ष पदको दौड तीव्र बनिरहेका बेला अधिवेशनको माहोल पनि चर्किँदै गएको छ। सर्वसहमतिको प्रयास चलिरहे पनि अन्तिम निर्णय मतदानमार्फत हुने सम्भावना पनि उत्तिकै छ। भीम रावलसहितका आकांक्षीहरूमध्ये कसले नेतृत्व हात पार्ने भन्ने विषयमा सबैको चासो बढेको छ।


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode