Hikmat Acharya
  • १३ वैशाख २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछामका १५ वर्षीय त्रिलोकको प्रतिभा गाउँमै चम्कियो : बनाए बोल्ने रोबोट ‘ह्याप्पी’


अछाम — प्रविधिको दुनियाँ प्रायः सहर र सुविधा सम्पन्न क्षेत्रसँग मात्र जोडिन्छ, बिकट जिल्ला अछामको एक गाउँ दर्नाका एक किशोरले यो धारणालाई चुनौती दिएका छन्। बान्नीगढी जयगढ गाउँपालिका–६ का १५ वर्षीय त्रिलोक ओझाले आफ्नै प्रयासमा ‘ह्याप्पी’ नामक बोल्ने र प्रतिक्रिया जनाउने रोबोट निर्माण गरी सबैलाई चकित पारेका छन्।

त्रिलोकले बनाएको रोबोट ‘ह्याप्पी’ विभिन्न विषयका प्रश्नको जवाफ दिन सक्छ, साथसाथै मानवजस्तो हाउभाउ पनि देखाउन सक्छ। अझ रोचक कुरा के भने, उनले यो प्रविधि आफैंले युट्युबजस्ता सामाजिक सञ्जालका सामग्री हेरेर सिकेका हुन्। औपचारिक तालिम विना, गाउँकै सीमित स्रोत र साधन प्रयोग गर्दै करिब ११ हजार रुपैयाँको लागतमा उनले तयार पारेको यो रोबोटले प्रविधिमा गाउँका बालबालिकाको पनि पहुँच हुन सक्ने सन्देश दिएको छ।

त्रिलोक भन्छन्, “मैले कहिल्यै तालिम लिएँ, वा ठूलो प्रयोगशाला पाएँ भन्ने होइन। जिज्ञासा थियो, सोच थियो, अनि साथ थियो युट्युबको। गाउँमै बसेर बनाएको हुँ।” उनले थपे, “परिवारले भरपूर साथ दियो। भविष्यमा प्रविधिको क्षेत्रमा गहिरो अनुसन्धान गरेर रोबोटिक्स इञ्जिनियर बन्ने मेरो लक्ष्य छ।”

शुरुवात ‘ह्याप्पी’ बाट

त्रिलोकले तयार पारेको ‘ह्याप्पी’ नामको रोबोटले इन्टरनेटको सहायतामा मानिससँग संवाद गर्न सक्छ। उसले सोधिएको प्रश्नको जवाफ मात्र दिँदैन, हात, टाउको हल्लाउने, अनुहारको हाउभाउ देखाउने जस्ता गतिविधि पनि गर्छ। अहिले ‘ह्याप्पी’ सामान्य संवाद र संकेत गर्न सक्ने अवस्थामा छ, तर त्रिलोक यसलाई अझ परिस्कृत बनाउने योजनामा छन्।

“हाललाई सामान्य भाषामा बोल्ने बनाएको छु,” त्रिलोकले बताए, “अब यसमा नेपाली भाषा, अनुहार पहिचान, तथा अधिक इमोसनल रिस्पोन्स दिने खालको प्रणाली थप्दै छु।”

विद्यालय र समुदायमा चर्चा

त्रिलोकको यो उपलब्धिले गाउँघरमा निकै चर्चा पाएको छ। उनका साथीभाइदेखि शिक्षकसम्म उनको लगनशीलता र जिज्ञासालाई खुलेर प्रशंसा गर्छन्। ऐश्वर्य माध्यमिक विद्यालय, दर्नाका प्रधनाध्याक हिक्मत थापा भन्छन्, “त्रिलोक एकदमै अब्बल, चुपचाप तर गहिरो सोच राख्ने विद्यार्थी हो। उसले जुनसुकै क्षेत्रमा हात हालोस्, त्यहाँ चम्किन्छ।”

सपना र सम्भावना

गाउँमा बस्ने एक किशोरले यस्तो प्रविधिमा हात हाल्नु आफैंमा उदाहरणीय कार्य हो। त्रिलोकको यो प्रयासले देखाएको छ कि सिप, जिज्ञासा र निरन्तर प्रयास भए गाउँबाट पनि विश्व स्तरका आविष्कार सम्भव छन्। उनी चाहन्छन्, सरकारले वा विभिन्न प्रविधि संस्थाले यस्ता प्रतिभालाई चिन्न सकोस् र उचित सहयोग प्रदान गरोस्।

त्रिलोक ओझाको कथा केवल एक रोबोट निर्माणको होइन, यो कथा हो–संघर्ष, लगन, र सम्भावनाको। उनको ‘ह्याप्पी’ रोबोट आज केवल गाउँका लागि चर्चा हो, भोलिका दिनमा त्यो प्रविधिको नयाँ दिशानिर्देशक बन्न सक्छ। त्रिलोकजस्ता किशोरको प्रतिभालाई सहयोग गरियो भने, अछाम जस्तो दुर्गम जिल्लाबाटै प्रविधिको नयाँ युग सुरु हुन सक्छ।

भिडियो :-


क्याटेगोरी : पश्चिम खोज, राष्ट्रिय, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode