संगठन निर्माणमा पहिचान बनाएका बि.सी.एमाले अछामको उपाध्यक्षको दौडमा

अछाम । नेकपा (एमाले) अछामको आसन्न जिल्ला अधिवेशनलाई लक्षित गर्दै तुर्माखाँद गाउँपालिकाका अध्यक्ष तथा पार्टीका जिल्ला उपसचिव डम्बर बि.सी.ले जिल्ला उपाध्यक्ष पदमा आफ्नो दावी प्रस्तुत गरेका छन्। युवाहरुको प्रतिनिधित्वलाई मजबुत पार्ने र जनप्रतिनिधिहरुको भावना समेट्ने नेतृत्वको खाँचो महसुस गर्दै बि.सी.ले अनुभव, संघर्ष र विश्वासको आधारमा आफूले दाबी गरेको बताएका छन्।
राजनीतिक यात्रा : विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिसम्म
२०६२ सालमा विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा आरम्भ गरेका डम्बर बि.सी.ले अनेरास्ववियुबाट निरन्तर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। बसुन्धरा मावि प्रारम्भिक कमिटीको सचिवबाट अध्यक्ष हुँदै अनेरास्ववियु तुर्माखादको इलाका अध्यक्ष बनेका बि.सी. २०६५ सालमा बिरेन्द्रनगर बहुमुखी क्याम्पस सुर्खेतको क्याम्पस कमिटी अध्यक्षसंगै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) उपसभापतिको उम्मेदवार समेत बनेका थिए ।
पार्टीको भातृ संगठन अनेरास्ववियु अछामको जिल्ला सदस्य, जिल्ला सचिव हुँदै जिल्ला अध्यक्षसम्मको जिम्मेवारी पूरा गरेका उनले संगठन निर्माण, कार्यकर्ता परिचालन तथा राजनीतिक चेतना विस्तारमा विशेष योगदान दिएका थिए। अनेरास्ववियु केन्द्रिय सदस्य, सचिवालय सदस्य तथा स्थायी कमिटी सदस्य हुँदै उनले संगठन सुदृढीकरणका अभियानमा प्रभावशाली भूमिका खेलेका थिए। त्यस्तै, सुप सह-इन्चार्जको जिम्मेवारीसमेत उनले कुशलतापूर्वक निर्वाह गरेका थिए।
स्थानीय तहदेखि पार्टीको मूल नेतृत्वसम्मको यात्रा
पार्टीको स्थानीय संरचनाबाट सुरु भएको उनको राजनीतिक यात्रा क्रमशः इलाका नं. १३ तुर्माखाँदको पार्टी अध्यक्ष, जिल्ला सदस्य हुँदै हाल जिल्ला उपसचिवको जिम्मेवारीमा पुगेर उभिएको छ। २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट तुर्माखाँद गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका बि.सी. अहिले उक्त पालिकाको सफल नेतृत्व गरिरहेका छन्।
उनले गाउँपालिका सञ्चालनको क्रममा विकेन्द्रित शासन, पारदर्शिता र जनमुखी कार्यशैलीमार्फत छुट्टै पहिचान बनाएका छन्। जिल्लाभरका पालिकामध्ये तुर्माखाँदलाई योजनाबद्ध र जनमुखी पालिका बनाउने अभियानमा लागेका बि.सी. जनप्रतिनिधिको रूपमा मात्रै नभई संगठन निर्माणका अभियन्ता पनि हुन्।
शैक्षिक पृष्ठभूमि
मध्यपश्चिम विश्वविद्यालय, सुर्खेतबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा स्नातकोत्तर (एमए) गरेका बि.सी. सैद्धान्तिक स्पष्टता, संगठनात्मक दृष्टिकोण र राजनीतिक स्थायित्वका पक्षधर नेता मानिन्छन्। उनले विचार, संगठन र व्यवहारको समन्वयलाई राजनीतिमा पहिलो शर्त मानेका छन्।
“संगठन सुदृढ बनाउन युवाहरुको सहभागिता अनिवार्य छ। म केवल पदको लागि होइन, जिम्मेवारीका लागि अघि आएको हुँ,” बि.सी. भन्छन्, “पार्टीभित्र सहकार्य, समन्वय र साझा नेतृत्वको संस्कार स्थापित गर्नु अहिलेको आवश्यकता हो।”
बि.सी.को उम्मेदवारीले जिल्ला अधिवेशनमा नयाँ ऊर्जा थपेको छ। गाउँपालिकाको सफल नेतृत्व, संगठनात्मक अनुभव र युवामैत्री सोच भएका कारण उनको उम्मेदवारीलाई प्रतिनिधिहरुले सकारात्मक रूपमा लिएका छन्। जिल्लाको भावी नेतृत्व सशक्त र कार्यदक्ष बनाउने सम्भावनाका साथ बि.सी.को दाबीलाई प्राथमिकतामा राखेर चर्चा सुरु भएको छ।
स्वच्छ,इमान्दारीता र नैतिकताको राजनिति गर्दै आएका बि.सी.ले कम उमेरमै काङ्ग्रेसको बलियो पकड मानिएको तुर्माखाद गाउँपालिकाको अध्यक्ष पदमा चुनाव जितेेसंगै उनलाई अछामको राजनीतिमा एउटा सम्भावना बोकेको युवाका रुपमा हेर्ने गरिएको छ ।
जनप्रतिनिधिले पार्टीको कार्यकारी जिम्मेवारी लिन नमिल्ने भन्ने पार्टी नीति प्रति पूर्ण सम्मान जनाउँदै आफुले उपाध्यक्षमा दावी प्रस्तुत गरेको उनको भनाई छ ।
“पार्टी र जनताको विचको पुल बन्ने जिम्मेवारी लिन म तयार छु,” बि.सी.भन्छन् “पार्टीले मेरो संघर्ष, अनुभव र क्षमता अनुसार मूल्याङ्कन गर्दै मलाई उपाध्यक्षको जिम्मेवारी दिनेमा म आशावादी छु।”
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया